गण्डकीको पर्यटन–संरक्षण र विकासभन्दा घोषणामा केन्द्रित
प्रकाश ढकाल
पोखरा, जेठ ७ ।
पोखराको फेवाताल अहिले दिनहुँजसो राष्ट्रिय समाचार बनिरहेको छ । पोखराभित्र धेरै लेखिएको समाचार मध्ये पर्छ फेवाताल । मानवीय र प्राकृतिक अतिक्रमण फेवाको मुख्य दुस्मन हो । दुवै अतिक्रमण रोकेर फेवाको ६५ मिटर मापदण्ड कायम गर्न सर्वोच्च अदातले संघ, प्रदेश र स्थानीय सरकारका नाममा छुट्टाछुट्टै जिम्मेवारी दिएर फैसला गरेको छ ।
असारसम्मको समयसीमा रहेको यसको काम अहिलेसम्म सुरु पनि भएको छैन । बरु गण्डकी सरकारले फेवाताल किनारमा इन्जोय जोन र तालको बीचमा कफी सप खोल्ने योजना अघि सारेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले तालको बीचमा कफी सप खोलेर गण्डकी प्रदेशको प्रोडक्ट देखाउने गरि पर्यटनको नयाँ प्याकेज सार्वजनिक गरे । यसबारे चौतर्फी विरोध पनि भैरहेको छ ।
२०७२ सालको भूकम्पमा गोरखकाली मन्दिर जीर्ण भएपछि अहिलेसम्म पनि उठेको छैन । सामान्य बजेट छुट्टिएपनि देखिने गरि काम भएको छैन । अधिकांश यस्ता संरचनाहरु अहिलेसम्म पनि उठेका छैनन् । पोखरा र गोरखामात्रै होईन प्रदेशभित्रका प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुको संरक्षणमा सरकारको चासो खासै छैन । बरु तिनै भग्नावशेषलाई देखाएर सरकारले पर्यटकीय गन्तब्यको नाममा पुस्तक बनायो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका सबै जिल्लाबाट उत्कृष्ट गन्तब्य भनेर १ सय १० ठाउँलाई घोषणा गरेको छ ।
११ वटै जिल्लाबाट प्रतिजिल्ला १० वटा हाराहारीमा पर्ने गरि प्राकृतिक, ऐतिहासिक, धार्मिक लगायत हिसावले महत्वपूर्ण मानिएका ठाउँलाई छानिएको छ । छनोट भएका यि गन्तब्यहरुको प्रचारप्रसार सहित आवश्यक संरचना निर्माणको काम सरकारले गर्ने मन्त्रालयका अधिकृत तुलसीराम शर्माले जानकारी दिए । नेपाल सरकारले तयार गरेको टुरिजम मास्टर प्लान, जिल्ला समन्वय समिति, नेपाल पर्यटन बोर्डले प्रकाशन गरेको टुरिजम प्रडक्ट अफ नेपाल नामक पुस्तकलगायतको सहयोगमा पर्यटकीय गन्तव्य छनोट गरिएको उनले बताए ।
सरकारले पहिलो चरणमा नाम चलेका र पर्यटक पुगिरहेका ठाउँलाई गन्तब्यको रुपमा अघि सारको छ भने नयाँ गन्तब्यहरु पनि छनौट गरेको छ । १ सय १० वटा थप नयाँ गन्तब्य पहिचान गरिसकेको र ति गन्तब्य पनि केही समयभित्रै घोषणा गरिने मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलले जानकारी दिए । ‘अहिलेको गन्तब्यमा पर्यटक गईरहेका छन् । त्यहाँ प्रारम्भीक संरचनाहरु बनिसकेका छन् । सडक पहुँच र त्यहाँ बस्ने खाने प्रबन्धका लागि सरकारले योजना ल्याउँदैछ, उनले भने–नयाँ गन्तब्य पनि छानेका छौं । जहाँ पर्यटक पुगेका छैनन् । तर पर्यटनको राम्रो सम्भावना छ । ति ठाउँलाई पनि सँगै लैजानुपर्छ ।’
सरकारको छनौटमा परेका गन्तब्यमध्ये राजधानी कास्कीमा फेवाताल सहित विश्वशान्ति स्तुपा, पाताले छाँगो, गुफाहरू (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), विन्ध्यबासिनी मन्दिर, अन्नपूर्ण बेसक्याम्प, सराङकोट, बेगनासताल, रूपा लगायत अन्य तालहरु, काहुँडाँडा र अन्य कोटहरु छन् । ऐतिहासिक जिल्ला गोरखामा गोरखा दरवार, मनकामना मन्दिर, छेकम्पार, बारपाक र लाप्राक, लार्केपास, श्रीनाथकोट मण्डली, गोरखा कालिका र गोरखनाथ गुफा, लिगलिगकोट र मनाश्लु संरक्षण क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा घोषणा गरिएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा लोमान्थाङ, मुक्तिनाथ मन्दिर, ल्हो–घेकर गुम्बा, धवलागिरी आईसफल, कागवेनी, दामोदर कुण्ड, जोमसोम, कुछप तेरेंगा गुम्बा, टिटी ताल र लियोपार्ड गुफालाई छनौट गरिएको छ भने मनाङमा तिब्बती खम्पाको बंकर, गंगापूर्ण ताल, छो–कर्णताल, कांगला पास पदयात्रा, पंकर ताल, डोना ताल, तिलिचो ताल, थोँचे–लार्के पदयात्रा, अन्नपूर्ण पदमार्ग (थोरङ्गलापास) मुख्य पर्यटकीय क्षेत्र हुन् । तनहूँमा बन्दीपुर, व्यास क्षेत्र, मिर्लुङकोट, देवघाटधााम, ढोरवराही, छाब्दीवराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थान र घाँसीकुवा, आँधिमुल र तनहूँसुर तथा लमजुङमा लमजुङ दरबार/गाउँशहर, घले गाउँ, घनपोखरा, राइनासकोट, इलमपोखरी, सिउरुङ, भुजुङ, करापुटार/इशानेश्वर महादेव क्षेत्र, काउलेपानी र दूधपोखरी हिमाललाई छानिएको छ ।
यसैगरि, म्याग्दीबाट गलेश्वरधाम, धवलागिरी हिमाल र बेसक्याम्प, धवलागिरी आईसफल, पुन हिल र घोरेपानी, मालिका धुरी, पुला ढोलठाना र टोड्के धुरी, रुप्से झरना र अन्धगल्छी, तातोपानी कुण्ड, खोप्रा लेख र पुलस्त्याश्रम जगन्नाथ मन्दिर, बागलुङबाट पञ्चकोट÷शालिग्राम संग्रहालय, ढोरपाटन, बाग्लुङ कालिका भगवती मन्दिर, जैमिनी धाम र गाईथुने/माईस्थान तथा हाँडिकोट, रुद्र ताल, भैरवस्थान मन्दिर तथा भकुण्डे, घुम्टे धुरी क्षेत्र, विहुँकोट शिवालय शिवधुरी भुलेनी क्षेत्र, सत्यवती मन्दिर र गाईघाट झरना छनौटमा परेको छ भने पर्वतबाट भमरकोट माटे र जलजला, पञ्चासे पञ्चधाम धार्मिक क्षेत्र, डहरे नीलकण्ठ पर्वत र प्राकृतिक टावर, चिसापानी कालिका र सूर्यास्तको दृश्य, महाशिला, सेतीवेणी शालिग्राम शिला, कुस्मा मोदीवेणी क्षेत्र, पैयुँकोट मन्दिर, बन्जिजम्प स्काई साइकलिङ र साहसिस पिङ, महभिर छहरा आरोहण क्यानेनिङ परेका छन् ।
स्याङजाका सिरुबारी, साल्मेडाँडा र नुवाकोट काला भैरव मन्दिर, सतौं चण्डी मन्दिर, आलम देवी मन्दिर, छायाँक्षेत्र मन्दिर, राम्दीधाम, कालीगण्डकी उच्च बाँध, स्वरेक मैदान, स्वरेक कोट र गुफा, अनधा अन्धी, गह्रौं कालिका तथा नवलपुरका मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, शाश्वतधाम, कामधेनु क्षेत्र, अकलादेवी मन्दिर, गजेन्द्र मोक्ष धाम, देवचुली तथा बरचुली डाँडा, दाउन्ने देवी मन्दिर, मध्यबिन्दु, ल्होसो धारा बाबाधाम मन्दिरलाई छनौट गरिएको छ ।
गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण बर्ष, २०२० लाई छिमेकी मुलुक भ्रमण बर्ष र सन् २०२२ लाई बृहत पोखरा अन्तराष्ट्रिय भ्रमण बर्षको रुपमा मनाउनेगरि नीति तथा कार्यक्रम ल्याएको थियो । सोही आधारमा कार्ययोजना पनि सार्वजनिक गरेको छ । सन् २०२१ मा पोखरा अन्नराष्ट्रिय क्षेत्रीय विमानस्थल बनेपछि पछिल्लो बर्ष २५ लाख पर्यटकलाई प्रदेश भित्र्याउने सरकारको लक्ष्य छ । त्यसैका लागि गाउँगाउँमा होमस्टे प्रबद्र्धन र स्थापनाको काम धमाधम भैरहेको छ । ३ सय वटा गाउँमा होम स्टेल सञ्चालनका लागि सरकारले चालू बजेटमै ३० करोड रुपैयाँ बजेट ब्यवस्था गरेको थियो । हालसम्म १ सय ९० वटा होम स्टेलाई १० लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराईसकेको मन्त्रालयले जनाएको छ ।
अन्य ठाउँमा पनि होम स्टे स्थापनाको प्रक्रिया सुरु भएको छ । पर्यटन मन्त्री विकास लम्सालले सरकारको लक्ष्य पूरा हुने दावी गरे । ‘अहिले पूर्वाधार बनाउने काम भैरहेको छ । सुरुको बर्ष देशभित्रैबाट पर्यटक बोलाउने हो । पहिला गन्तब्य छान्नुप¥यो नि । गन्तब्य तयार भएपछि पर्यटकलाई त्यहाँ पठाउन सजिलो हुन्छ, उनले भने–प्रदेशमा घुम्ने ठाउँ प्रशस्तै छन् । त्यसलाई प्याकेजको रुपमा प्रबद्र्धन गर्ने र आर्थिक विकाससँग जोड्ने सरकारको योजना हो ।’ उनले प्राकृतिक श्रोतको उपयोग र कृत्रिम श्रोतहरुको लागि संरचना निर्माण पनि सँगसँगै गर्ने सुनाए ।