काहुँ धरहरामा १० बर्षपछि महोत्सव

पोखरा, मंसिर १९ ।
पोखराको काहुँमा रहेको धरहरा र काहुँ डाडाँको प्रचार प्रसार गर्ने उद्देश्यले मंसिर अन्तिम साता काहुँ धरहरा महोत्सव हुने भएको छ । १० बर्षपछि पछि काहुँ धरहरा तेस्रो संस्करण हुन लागेको हो । काँहु धरहरा महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोगकको रहको छ । जनकल्याण क्लबको आयोजना तथा फुलबारी क्लबको सह आयोजनामा मंसिर २८ गतेदेखि पुस ८ गते सम्म संचालन हुनेछ ।

२०६२ सालमा पहिलो पटक र २०६५ सालमा दोस्रो महोत्सव आयोजना भएको थियो । एक दशक पछि फेरी स्थानीय क्लबहरुको सक्रियतामा तेस्रो पटक महोत्सवको तयारी गरिएको हो । पोखराको दृष्यावोलकनको लागि उपयुक्त मानिएपनि ओझेलमा पर्दै आएको काँहुलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए । महोत्सवमा पर्वतीय दौड, साईक्लिङ लगायत साहसिक खेलकुद गतिविधि सञ्चालन गरिने उनको भनाई छ ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरिने उनले जनाए । लाईभ म्युजिक कन्सर्ट, व्यापार मेला समेत आयोजना गरिने छ । स्थानीय सस्कृति तथा कलाको प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसार गरिने छ ।

महोत्सव स्थलमा ८० वटा स्टल राखिने उनले जानकारी दिए । स्टलमा दैनिक उपभोग्य सामान, फुड फेष्टिबल, हस्तकलाका सामानहरु राखिने क्लबले जनाएको छ । दश दिने महोत्सवमा ८० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । काँहु धरहरासम्म पुग्न अहिले मोटरबाटो नै निर्माण गरिएको छ ।

काहुँ समुन्द्री सतहबाट १४६० मिटरको उचाईमा छ । धरहराबाट पोखराको बजार मात्रै नभई उत्तरी हिमाली दृष्य आँखै अगाडि र विहानीको सुर्योदय हेर्न पनि प्रख्यात छ । २०२६ सालमा काँहु धरहरा निर्माण गरिएको हो । तत्कालिन समयमा अञ्चलाधिस नन्दबहादुर मल्ल र सामाजिक अभियान्ताको रुपमा परिचित स्व. मेजर बीरसिंह गुरुङको सक्रियतामा धरहरा निर्माण गरिएको थियो । धरहरा भन्दा केही पर काहुँकोट देउराली मन्दिर छ । काँहु तत्कालिन गाविसको रुपमा रहेपनि अहिले महानगरपालिका वडा नं ११ मा समाहित भएको छ । वडामा २२ सय घर धुरी छन् ।