एन्फाको चुनाव अन्यौलमा, अदालतमा मुद्धा दायर

काठमाडौं, वैशाख २० ।
अखिल नेपाल फुटबल संघको चुनाव विधानअनुसार नभएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । उच्च अदालत पाटनले मुद्धा दर्ता गर्न अस्विकार गरेको एक दिनपछि एन्फाकै कोषाध्यक्ष समेत रहेका विराटजंग शाहीसहित कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष, ललितपुर, भक्तपुर, बारा जिल्ला फुटबल संघका अध्यक्षहरुले संयुक्त रुपमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका हुन । मंगलबार मात्र अध्यक्षका प्रत्यासी मणि कुँवरले २२ गते हुन लागेको एन्फाको चुनाव विधानसम्मत नभएको भन्दै मिति सार्न माग गरेका थिए । तर निर्वाचन समितिले यो मिति विधानसम्मत नै भएको बताएको थियो ।
यता राष्ट्रिय खेलकुद परिषद्ले पनि कुँवरले अडान लिएको विधान संशोधनका विषयमा आफ्नो स्पष्ट धारणा राखिसकेको छ । अब एन्फा पदाधिकारी नै निर्वाचन बिथोल्न अगाडि सरेपछि २२ गते हुने भनिएको चुनाव के हुने हो भन्ने अन्योल बढेको छ । एन्फाको कोषध्यक्ष पदमा रहेका व्यक्ति विराटजंग नै निर्वाचन विधानसम्मत नभएको भनेर मुद्धाका लागि जाँदा उनको पदीय दायित्व पनि शंकाको घेरामा परेको छ । यो मुद्धाका लागि अदालतले विहिबार नै पेशी तोकेको छ । यदि अदालतले यो निर्वाचनका विषयमा अन्तरिम आदेश जारी गरेमा बिथोलिने छ । यसो भएन भने तोकेको मिति अर्थात् वैशाख २२ गते नै चुनाव हुनेछ ।