बामदेवले भने–कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाउनुपर्छ

पोखरा, फागुन १९ ।
नेकपाका बरिष्ठ नेता बामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफू चुनाव नलड्ने बताएका छन् । उनले अधिकारीकै परिवारको सदस्यलाई चुनावको उम्मेदवार बनाउनुपर्ने बताएका हुन् ।

शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले आफू चुनावमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधिकारीको अन्त्यष्टिमा नेता गौतम सहभागी भएपछि कास्कीबाट उपनिर्वाचन लड्ने मनसायले उनी सहभागी भएको प्रचारमा ल्याइएको थियो । लगत्तै गौतमले गौतमले त्यसको खण्डन गर्दै आफू उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् ।

गौतमले हुँदै नभएका निराधार कुरा प्रचारमा ल्याइएको भन्दै चित्त दुखाएका छन् । ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो’, गौतमले शनिबार फेसबुकमा लेखेका छन्, ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ । जीवनभर दिने पनि छैन ।’

पार्टीले उम्मेदवार बनाए पनि आफू अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार नबन्ने गौतमले प्रष्ट पारेका छन् । बरु उक्त निर्वाचन क्षेत्रमा अधिकारीकै परिवारका सदस्यलाई उम्मेदवार बनाउनु पर्ने गौतमको भनाइ छ ।

‘मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म कमरेड रवीन्द्रको दुःखद् निधनवाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन । मेरो सम्पूर्ण प्रयत्न स्व.क.रवीन्द्रको परिवारका सदस्यलाई नै उमेदवार बनाउनेमा लगाउने छु ।’