७० रुपैयाँमा अघाउन्जेल खाना ! फाले जरिवाना !

काठमाण्डौं, चैत १६ ।
ललितपुरको पाटनढोका नजिकै छ–’ललित भोजनालय’ । अफिस आवर अर्थात् लगभग १० बजे भोजनालयको बाहिरैसम्म मानिसहरूको भीड थियो । बाहिरमात्रै होइन भोजनालायभित्र पनि चाप उत्तिकै थियो ।

यहाँ मानिसहरूको भीड हुनुको कारण हो–सस्तोमा स्वादिष्ट खाना । हामी त्यहाँ पुग्दा मानिसहरूको संख्या बाक्लो नै थियो । होटलका स्टाफहरूलाई बोल्नेसमेत फुर्सद थिएन । हामीले सोध्यौं–फोटो खिच्न मिल्छ ?

’फोटो चाहिँ खिच्नु, अहिले बोल्ने फुर्सदनै हुँदैन । कुरा गर्न दिउँसोतिर आउनु । हामी खाली हुन्छौं ।’ उनले हाम्रो कुरा बुझे । हामी फर्क्यौं । दिउँसो त्यहाँ पुग्दा कुमार तामाङ (३१) स्कुस ताछ्दै थिए । उनकी श्रीमती बिना तामाङ भने फर्सी पखाल्दै थिइन् । ’बेलुका र भोलि बिहानका लागि अहिलेदेखि नै तयारी थाल्नुर्पयो नि !’ कुमारले भने ।

यसरी खोलियो भोजनालय

ललितपुर गोटीखेलका कुमार तामाङले पाटन ढोकामा खाना बेच्न थालेको ८ वर्ष भयो । उनको होटलमा शुरूको दुई वर्ष खाजा मात्र पाइन्थ्यो । शुरूमा त्यतिसारो मान्छे आउँदैनथे । तर पछि उनलाई लाग्यो( पाटन क्याम्पस आसपासमा कुनै पनि खाना होटल छैन । अफिसहरू पनि टन्नै छन् । एउटा भोजनालय खोल्न पाए चल्थ्यो कि !

बजारमा बेच्ने रेटमा खाना दिँदा हाम्रोमै मान्छे किन आउने भन्ने उनलाई लाग्यो । सोचे–केही त फरक गर्नैपर्छ । त्यसपछि कुमारले अन्तभन्दा केही सस्तोमा स्वादिष्ट खाना दिने निर्णय गरे । उनले शुरूका दिनहरूमा सादा खानाको ४० रुपैयाँमै दिन थाले । तर अन्य भोजनालयतिर ६०–७० रुपैयाँ पर्थ्यो ।

शुरूआती दिनलाई उनी यसरी सम्झिन्छन्, ’पहिला दिनमा २०–३० जना मात्रै खाना खान आउँथे । त्यहाँबाट बढ्दै गएर १०० पुगे । अनि डेढ सय हुँदै अहिले बिहानमात्रै ३५० जनाले खाना खान्छन् । बेलुका भने लगभग १५० जनाले खान्छन् ।’

बजारमा सामानको मूल्य बढ्दै गएपछि आफूहरूले खर्चअनुसार रेट बढाउँदै ७० र्पुयाएको उनी बताउँछन् । उनका अनुसार सस्तो रेटमै गुणस्तरीय खाना खुवाउन सकिन्छ । उनी भन्छन्, ’७० रुपैयाँमै थोरैलाई खुवायो भने त पुग्दैन । अलि धेरै अथवा ३५० जति मान्छेलाई खुवायो भने मज्जाले पुग्छ । धेरैलाई खुवाउँदा सस्तोमा पनि राम्रो खाना खुवाउन सकिन्छ ।’

अचम्मको कुरा के भने उनको व्यवसायमा परिवारका सबै सदस्यहरू सहभागी छन् । आठ जनामा सात जना परिवारकै छन् भने एक जना कुकलाई पारिश्रमिक दिएर राखेका छन् । उनी भन्छन, ’उनी शुरूआती दिनदेखि नै हामीसँगै काम गरेको भएकाले उनी परिवारका सदस्य जत्तिकै छन् । हजुरआमा, बाआमा, बहिनी, श्रीमतीलगायत यसमा खटिएका छौं ।’

कुमार आफ्नो व्यवसायप्रति पूर्ण सन्तुष्ट छन् । उनको भनाइलाई मान्ने हो भने व्यापारको ४० प्रतिशत नाफा हुन्छ । भन्छन्, ’हिसाब गर्दा खेरी दिनको १५–१६ हजार रुपैयाँ बच्छ ।’ जब उज्यालो हुन्छ, उनलाई सटर खोल्न हतार हुन्छ । ६ नबज्दै उनले सटर तानिसकेका हुन्छन् ।

रोचक के भने, उनको होटलमा लगाइएको रेटबारे ग्राहकहरू पनि अचम्ममा पर्छन् । ’ग्राहकले मासुभात खान्छन् । कति हो भन्दा मैले १२० भन्छु,’ ग्राहकका किस्सा सुनाउँदै उनी भन्छन्, ’ग्राहकहरूले होइन मैले मासु पनि खाएको हो भन्छन् । अनि उनीहरूले जिब्रो काट्दै यति सस्तोमा मासुभात ! भन्दै छक्क पर्छन् ।’

अझ केहीले सादा खाना खाँदा १०० तिरेर हिँड्न खोज्छन् । त्यस्तालाई उनले रोक्छन्, र भनिदिन्छन्-फिर्ता लिनुस् । तर खाना फाले चाहीँ जरिवाना लिने उनले सुनाए । लोकान्तरमा यो खवर छ ।