१ अर्व लागतमा खुल्यो पोखरामा नयाँ रिसोर्ट

पोखरा, साउन २३ ।
पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं २३ दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भई २ महीना अगाडिदेखि रिसोर्ट पूर्ण सञ्चालनमा आएको हो ।

रिसोर्ट सञ्चालन शुरू भएदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको सेल्स एन्ड अपरेशन डाइरेक्टर किरण तुलाधरले जानकारी दिए । उनले भने, ‘यहाँको सेवासुविधा तथा सौन्दर्यले नै पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।’ ७२ रोपनी जग्गामा निर्मित रिसोर्टमा करीब १ अर्ब रुपैयाँ लगानी भएको रिसोर्टका कार्यकारी अध्यक्ष सुनीलभक्त श्रेष्ठले उल्लेख गरे । उनले ६४ ओटा कोठाबाट रिसोर्टको सेवा शुरू भएको बताए । उनले भने, ‘पोखरामा पहिलोपटक अत्याधुनिक सुविधासम्पन्न जंगल रिसोर्ट खोल्न सफल भएका छौं ।’

रिसोर्टमा ६ ओटा ब्लक र ६ ओटा भिल्ला छन्, त्यस्तै एउटा प्रेसिडेन्टल रूम, एउटा स्वीट रूम र अरू बाँकी सबै सुपर डिलक्स रूम छन् । पर्याप्त पार्किङ तथा स्वीमिङ पूलको सुविधा पनि रिसोर्टमा छ । जंगलको काखमा अवस्थित रिसोर्टबाट पोखरा तथा माछापुच्छ«े, अन्नपूर्ण लगायत हिमाली शृंखला लामो रेन्जमा देख्न सकिने सञ्चालक ध्रुवबहादुर थापाले बताए ।

‘प्रत्येक रूमबाट हिमालयको दृश्यावलोकन गर्न सकिन्छ,’ सञ्चालक थापाले भने । सेती नदी र फुस्रे खोलाको संगमस्थल तथा वरपरका हरियाली जंगल तथा पहाडको पनि रिसोर्टबाट दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्ट परिसरमा साइकल ट्र्याक र फुट ट्र्याक पनि निर्माण भएको छ ।

रिसोर्टमा ठूलासाना गरी ४ ओटा हल छन् । उच्च वर्गका पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याइएको थापाले उल्लेख गरे । रिसोर्ट पोखरा विमानस्थलबाट ७ किलोमिटर र निर्माणाधीन अन्तरराष्ट्रिय बिमानस्थलबाट करीब ४ किलोमिटरको दूरीमा पर्दछ । रिसोर्टका कार्यकारी अध्यक्ष श्रेष्ठले प्राकृतिक तथा हरियाली वातावरणमा रिसोर्ट बनेकाले पनि धेरै पर्यटक आउने विश्वास व्यक्त गरेका छन् ।

केही समयपछि रिसोर्टमा लगानी बढाएर १०० कोठा र्पुयाउने सञ्चालकहरूको लक्ष्य छ । त्यसका लागि करीब ५० करोड रुपैयाँ थप लगानी हुने बताइएको छ । रिसोर्टमा एनएमबि बैंकले बैंकिङ सहकार्य गरेको छ । रिसोर्टमा करीब १०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘पोखरा आउने पर्यटकको संख्या बढाउन र बसाइ अवधि लम्ब्याउन रिसोर्टले योगदान र्पुयाउने विश्वास गरेका छौं,’ सञ्चालक थापाले भने । रिसोर्टमा ८ जनाको लगानी छ । पत्रकार सुरेन्द्र पौडेलले अभियानका लागि समाचार लेखेका हुन् ।