१३औं ‘साग’मा नेपालको स्वर्ण ४८ पुग्यो
काठमाडौं, मंसिर २३ ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४८ ओटा स्वर्णपदक जितेको छ ।
नेपालले सोमबार बक्सिङमा दुईओटा र जुडोमा एकओटा स्वर्णपदक जितेको छ ।
बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् ।
त्यस्तै, जुडोबाट पुनम श्रेष्ठले स्वर्ण दिलाइन् । ७८ केजीमुनि तौल समूहमा उनले बंगलादेशी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् ।
४८ स्वर्ण जित्दै नेपाल दोस्रो स्थानमा यथावत् छ ।
शीर्ष स्थानको भारतको १३८ स्वर्णपदक रहेको छ भने तेस्रो स्थानको श्रीलंकाको ३६ स्वर्ण रहेको छ ।
चौथो स्थानको पाकिस्तानको ३०, पाँचौं स्थानको बंगलादेशको १८, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्ण छ । पुछारको भुटान स्वर्णविहीन छ ।
(ईमेजखबरबाट साभार)