१० तोला सुनका गहना र नगद तथा ल्यापटप सहित चोरीको गिरोह पक्राउ

पोखरा, भदौ २४ ।
पोखराका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने गिरोह नै पक्राउ परेको छ । पोखरा ६ बैदाम स्थित शिवराम बरालको घरबाट जेठ २४ गते १४ तोला सुनका गहना, ३ थान घडी र ट्याव चोरी भएको थियो । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले पोखरा २ बागलुङ बसपार्क बस्ने १९ बर्षका विकेस केसी र १८ बर्षका जिरे भन्ने लक्ष्मण नेपालीलाई पक्राउ गरेको थियो ।

दुवैजनाले सामान आफैले चोरेको स्विकार गरेका छन् । यस्तै ट्याव किन्ने पोखरा १८ का तारानाथ परियारलाई पनि पक्राउ गरिएको छ । उनले ५ हजार रुपैयाँमा चोरीको ट्याव किनेका थिए । सुनका गहना राखेर लागू औषध दिने पोखरा २ नालामुखकी ३३ बर्षिया मञ्जु केसीलाई पनि पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट १० तोला सुनका गहना, ४ तोला चाँदीको गहना, ४ वटा घडी, नगद ४५ हजार, ३ वटा ट्याव, ४ वटा मोवाईल र सुन जस्तो देखिने केही गहनाहरु बरामद गरेको छ । उनीहरुले अन्य ठाउँमा पनि चोरी गरेको बताएको प्रहरीले जनाएको छ ।