हिमाल खुल्यो, आउनुस पोखरा घुम्न (फोटो फिचर)
पोखरा, कार्तिक ११ ।
नेपालको मध्ये विन्दु पोखरा । पोखरा भन्नेबित्तिकै मनको आँखामा एउटा तस्बिर आइपुग्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छाया खेलिरहेको । ट्रेडमार्क नैै बनेको छ हिमाल पोखराको । तर हिमाल जहिले पायो तहिले कहाँ देखिन्छ र जुनसुकै मौसममा छ्याङ्ग खुल्दैन । पोखराले निख्खर हिमाल देखि रहेको छ । दिनदिनै हिमालले बादलको पर्दा हटाएर पोखरालाई हेर्न थालिसकेको छ ।
घुमक्कडहरुको प्याराडाइजु पोखरा आउँदा हिमाल खुलेन वा देख्न पाइएन भने त्यो यात्रा सार्थक हुँदैन। हरिया डाँडापाखा त जुनसुकै ठाउँमा पनि छन् । तर पोखराबाट जसरी हिमालसँग आँखा जुधाउन अन्त कहिँबाट पाइन्न । हो, हिमाल पनि नेपालका अरु धेरै डाँडाबाट समेत देखिन्छ । तर पोखराबाट देखिने र अन्तबाट देखिनेको हिमाली सौन्दर्यको अन्तर नाप्ने यन्त्र विज्ञानले बनाइसकेको छैन ।भदौ मासबाट खुल्न थालेको हिमालको रङ अरुबेला भन्दा भिन्न छ । अहिलेको हिमाल दूधे हिमाल हो, पर्यटनविद् झलक थापा भन्छन्, अर्को महिना हिउँको रङ फरक देखिन थाल्छ । जब हिमाल खुल्न थाल्छ तब सौन्दर्य पारखी पोखरा भित्रन थाल्छन् । हिमाल खुल्न सुरु हुनु भनेको पोखरा घुम्ने मौसम सुरु हुनु हो । हिमाल उघ्रिन थाल्नु भनेको पोखरामा तापक्रम ओर्लन थाल्नु पनि हो । नेपालका धेरै सहरभन्दा शीतलो यो ठाउँ काठमाडौंमा भन्दा ३ डिग्री बढी गर्माउँछ । तर अब हिमाल खुल्न थालिसकेको आकाशबाट घामले पोखरालाई तताउने र मान्छेको पसिना निकाल्ने तागत राख्दैन ।
हिमाली शृंखला, हिमाल र पोखरासँग
धेरैथरी विशेषता जोडिएका छन् । त्यसैले हिमाल खुल्नु सुरु हुनुको खास अर्थ हुन्छ पोखरामा । पोखराबाट माछापुच्छे्र हिमालसम्मको हवाई दुरी ३३ किलोमिटरमात्रै हो । यति अग्लो हिमाल र यति नजिकको सहर विश्वमा विरलै भेटिन्छ भन्छन् पर्यटनकर्मी । दुरी छोटो भए पनि हिमाल हेर्दा स्विटर वा जाकेट भिर्नुपर्दैन पोखरामा टिसर्टै काफी हुन्छ । यो उपत्यका यस मानेमा पनि भाग्यमानी छ कि संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ यहींबाट देखिन्छन्—धौलागिरि, अन्नपूर्ण र मनास्लु । ८ हजार मिटरभन्दा अग्ला चुचुरा यति संख्यामा दुनियाँको अर्को कुनै एकै सहरबाट देखिन्न ।घुमफिर रुचाउनेको लिस्टमा पर्ने धेरै ठाउँका धेरैखाले विशेषता पक्कै हुन्छन् । ती विशेषताको स्वाद लिन त्यस्ता गन्तव्यको पनि कुनै निश्चित ठाउँ नपुगी धरै हुँदैन । पर्यटनविद झलक थापा भन्छन्, पोखरामा भने हिमाल हेर्दिन भनेर पनि सुख पाइन्न, हेर्नै पर्दैन आउँदाआउँदै देखिन्छ । हो पोखरामा हिमाल हेर्ने भनेर कुनै निश्चित प्वाइन्ट छैन । काठमाडौंबाट आउँदा कास्की नटेक्दै तनहुँको दुलेगौंडातिरैबाट देखिन थाल्छ हिमाल । पोखरै आइपुगेपछि भने उत्तर फर्किए पुग्छ दैनन्दिन कामकाज गर्दागर्दै जहाँकहिँबाट पनि देखिन्छ हिमाल। कहिँकहिँ भने केही घरले छेक्लान् नत्र बाटोघाटो, पुल, मन्दिर र चौताराहरु सबैसबैलाई हिमाल हेर्ने प्वाइन्ट भन्दिए हुन्छ ।
पोखरा खाल्डोबाटै देखिने हिमालको सूची
माछापुच्छ्रे र अन्नपूर्ण अनि धौलागिरि र मनास्लुमा टुंगिदैन । लस्कर लामो छ । पश्चिमबाट सुरु गर्ने हो भने धेरैका आँखा धौलागिरी प्रथम हिमालमा पर्छ । किनभने यो धेरैले चिनेको हिमाल हो । त्योभन्दा अझै उता देखिने पनि छ—पुठ्ठा हिउँचुली । धौलागिरिपछि पूर्व्तिर आँखा मोड्दै ल्याउँदा देखिन्छ मोदित्से हिमाल । अन्नपूर्ण साउथ नामले चिनिने हिमाल चौथो नम्बरमा देखिन आइपुग्छ । घान्द्रुक हिउँचुली अन्नपूर्ण प्रथम क्रमशः देखिँदै आउँछन् । अन्नपूर्ण प्रथम ८०९१ मिटर त्यही हिमाल हो जसले पोखरालाई मात्रै होइन नेपाललाई नै विश्वमा चिनायो । ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये सबैभन्दा पहिला मानव पाइला परेको हिमाल यही हो । आरोहणका मामलामा सगरमाथाभन्दा ३ वर्ष जेठो छ अन्नपूर्ण प्रथम । फ्रान्सका नागरिक मौरिस हर्जोग नेतृत्व टोलीले २००७ साल जेठ १९ गते अर्थात सन् १९५० को जुन ३ तारिख यो हिमाल चढेको थियो । त्यो खुसीलाई फ्रान्सले राष्ट्रिय महोत्सवकै रुपमा आयोजना गरेर मनायो । त्यसपछि फ्रान्समा पोखरामात्रै होइन विश्वैभरि नेपाल प्रचारित भयो ।
३४ वर्षे हर्जोगले विश्वकै दसौं अग्लो हिमाल अन्नपूर्ण प्रथम
आरोहणबारे संस्मरण लेखे—मों रनेसँस अफ्रे ला अन्नपूर्ण अर्थात अन्नपूर्ण आरोहणपछि मेरो पुनर्जन्म । त्यो किताब ५० भन्दा बढी भाषामा उल्था भएर १ करोड ६० लाखभन्दा बढी प्रति बिक्री भयो र सँगसँगै प्रचार भयो पोखरा । नेसनल जिओग्राफिकले साहसिक यात्राबारे अहिलेसम्म लेखिएका उत्कृष्ट किताबको सूचीमा छैटौं नम्बरमा हर्जोगको संस्मरणलाई राखेको छ । सन् १९७० मा क्रिश्चियन बोनिङ्टन नेतृत्वको ब्रिटिस आरोहण दलले फेरि अन्नपूर्ण चढ्यो र उनले पनि किताब लेखे । हर्जोगले उत्तरी मोहडाबाट चढेको हिमाल बोनिङ्टन टोलीले भने दक्षिण दिशाबाट उक्लेको थियो । किताब पनि अन्नपूर्णको दक्षिणी मोहोडा अर्थात साउथ फेस अफ अन्नपूर्ण भनेर लेखेका थिए बोनिङ्टनले । पोखरालाई प्रचार गर्ने अर्को कोसेढुंगासरहको किताब थियो त्यो ।
गंगापूर्ण अर्को महत्वपूर्ण इतिहास
जोडिएको हिमाल हो जसलाई हेर्न पोखराको रामबजारतिरको इलाका पुगे हुन्छ । माछापुच्छे्रबाट छेलिएको यो हिमाल महिलाले आरोहण गरेको पहिलो नेपाली हिमाल हो । सगरमाथा चढ्नुअघि जुनको ताबेईका पाइलाले यही हिमालको टाकुरा चुमेकि थिइन् । तार्केकाङ, खाङसारकाङ भन्ने २ हिमाल गंगापूर्णभन्दा पश्चितिरै पर्छन् । पूर्व्तिर भने मर्दी हिमाल छ । अनि लहरै आउँछन् अन्नपूर्ण तेस्रो, चौथो, दोस्रो, लमजुङ र सिकलेस हिमाल । सँगैको हिमलुङ हिमाल पोखराको मैदानी भागबाट भने देखिन्न । त्यो हेर्न मट्टिखान डाँडा उक्लनुपर्छ भन्छन् पर्यटनविद् झलक थापा ।मर्स्याङ्दी नदीको नाम त सबैले सुनेकै छन् । तर पोखराबाट देखिने एउटा हिमालको नाम पनि छ मर्स्याङ्दी । सिकलेस हिमालपछि मनास्लुभन्दा अघि छ मर्स्याङ्दी । मनास्लु आफैंमा हिमशृंखला हो । यो शृंखलामा मुख्य मनास्लु र मनास्लु नर्थसहितका हिमाल पर्छन् । नेपालमा जति हिमाल छन् ती सबैको नाम छैन । क्रमशः नामकरण हुँदैछ। पोखराबाटै देखिने एउटा हिमालले पछिल्लो समय नयाँ नाम पाएको छ हर्कचुली । भूगोलविद डा. हर्क गुरुङको सम्मानमा राखिएको त्यो हिमाललाई पहिला पिक ट्वान्टी नाइन भनिन्थ्यो भन्छन् थापा ।
हर्क चुलीमा
गएर पनि टुंगिदैन पोखराबाट हेर्न पाइने हिमाली सूची । त्यसपछि पनि बाँकी नै हुन्छ बौद्ध हिमाल । त्यही हो यो सहरबाट आँखा नचाउँदा पूर्वको अन्तिम सीमास्तम्भझैं खडा हुने हिमाल । मट्टिखानको डाँडै उक्लने हो भने त गणेश हिमाल शृंखला पनि देखिन्छ, थापा भन्छन् ।
पोखराबाट हेर्दा सबैभन्दा अग्लो माछापुच्छ्रे नै हो कि लाग्छ तर त्योभन्दा धेरै अग्लो हुन् अन्नपूर्ण र धौलागिरी । कहाँको ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे र कहाँका विश्वकै अग्ला धुरीजस्ता धौलागिरि अनि अन्नपूर्णहरु। त्यसैले बुद्धि परियारले गीतै बनाएका थिए—माछापुच्छे्र भन्नुमात्रै धौलागिरि अग्लो, भेट हुन लेख्या रैछ, हिजो लाथ्यो झल्को ।
कवि तीर्थ श्रेष्ठ पोखराबाट देखिनेभन्दा नेदेखिने हिमाल पनि थुप्रै भएकाले पोखराभन्दा वरिवरिका डाँडा र गाउँ उक्लन सुझाव दिन्छन् । अन्नपूर्ण आधार शिविर गएपछि देखिने गन्धर्व चुली, टेन्ट पिक लगायत हिमाल उनको सिफारिस सूचीमा छन् । भन्छन्, माछापुच्छे्रमात्रै होइन सबै हिमाललाई भिन्दाभिन्दै ठाउँबाट हेर्दा भिन्दाभिन्दै देखिन्छ । त्यसरी एउटै हिमाललाई फरकफरक देख्न पाइन्छ ।पोखरा आउने पर्यटक फेवाताल नपुग्ने सायदै हुन्छ । तर सबैले पोस्टकार्डमा देखेझैं फेवातालमा माछापुच्छे्रको प्रतिबिम्व देख्दैनन् । सामान्यता पर्यटक तालबीचको बाराही मन्दिरतिर पुग्छन् र खोज्छन् माछापुच्छे्र छायाँ । तर त्यो होइन खोज्ने ठाउँ । माछापुच्छे्र छाया तालमा हेर्ने नै हो भने बिहानको मिर्मिरेतिर ड्यामसाइड पुग्नुपर्छ अनि देखिन्छ प्रकृतिको लीला । अहिलेदेखि खुल्न थालेको हिमाल अब माघफागुनसम्मै देख्न पाइन्छ आक्कलझुक्कल बादलले छेकेको दिनबाहेक । तर हिमाल खुल्न थाल्नासाथैको दूधे हिमालको दृश्य किन छुटाउनुरु टाढा छैन है पोखरा ।-पत्रकार केशवशरण लामिछानेले अन्नपूर्ण पोष्ट दैनिकका लागि यो खवर लेखेका हुन् ।
तस्विर–सन्तबहादुर लामिछाने