हल्लनचोक–पामे–घाटिछिना सडक स्तरोन्नती गरिने

पोखरा, साउन २६ ।
पोखराको हल्लनचोकदेखि पामे हुँदै घाँटिछिनासम्मको सडक स्तरोन्नती गरिने भएको छ । १३ किलोमिटर यो सडक गण्डकी प्रदेश र पोखरा महानगरले बहुबर्षे योजना अनुसार स्तरोन्नतीको काम गर्न लागेका हुन् । अहिले हल्लनचोकदेखि खपौदीसम्म कालोपत्रे सडक छ ।

पोखरा महानगरपालिकाले गत आर्थिक वर्षभित्रमा ४ किलोमिटर सडक खण्ड स्तरोन्निति गरेर कालोपत्रे गर्ने योजना बनाएको थियो । खपौदीदेखि पामे सडक खण्ड स्तरोन्नति गरिएको छ । तर कालोपत्रे हुन बाँकी छ । चैतमसान्तसम्म सक्ने सम्झौता थियो । कोभिड–१९ को महामारी निम्तियो । लकडाउन भयो । सडक निर्माणको योजना बीचैमा रोकियो ।

कामदार घर फर्किएपछि कालोपत्रे गर्ने भारतीय मजदुर आएका छैनन् । मजदुर नआउँदा कालोपत्रे गर्ने काम अझै लम्बिने सम्भावना देखिएको छ । यसको सम्झौता भने कार्तिकसम्मका लागि थप गरिएको छ । ४ किलोमिटर सडकको लागि महानगरले ४ करोड ७१ लाख रुपैयाँ बजेट खर्च गर्न लागेको छ । प्रदेश सरकारले पनि पामेसम्म पुग्ने विभिन्न खोलामा कल्भर्ट र पुल बनाउन लागेको छ ।

१० मिटर फराकिलो सडक निर्माण गरिदाँ पामे बजारका घर भत्काउनुपर्ने अवस्था आएको महानगरले जनाएको छ । त्यस क्षेत्रको १३ घर भत्काउनुपर्ने अवस्था छ ।