हत्याको बदला लिने विप्लवको चेतावनी, १३ गते नेपाल बन्द

काठमाण्डौं, जेठ ९ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा सरकारले हत्या गरेको बताएको छ । महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै भनेको छ–‘सरकारले भिडन्तको झुठो नाटक रचेर कार्यक्रममा हिडिरहेका घिमिरेको निर्ममरुपमा हत्या गरेर आफनो फासीवादी अनुसार नाङग्याएको छ ।’

 

विज्ञप्तिमा अघि उल्लेख छ–‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको छ । उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् ।’

 

जनमुक्ति अभियानलाई नरोक्न समेत विप्लव समूहको सरकारलाई चेतावनी छ । विप्लवले घिमिरेको हत्या प्रकरणको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न पनि माग गरेका छन् । साथै घिमिरेको हत्यालाई लिएर पार्टीले बिरोधको कार्यक्रमहरु समेत घोषणा गरेको छ । जस अनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ भने १२ गते देशव्यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।