‘हजुरआमा’ उमेरकी पोखरेली कुलमाया एसईईमा बी प्लस ल्याएर पास

पोखरा, असार १३ ।
२०७५ को एसईई परीक्षामा उत्तीर्ण भएकी कलाकार करिस्मा मानन्धर र राजनीतिज्ञ शान्ता चौधरीको धेरै चर्चा भइरहेको छ । राष्ट्रिय सञ्चार माध्यमहरुमा उनीहरुका समाचार छाइरहेका छन् ।

करिस्मा र शान्ता जस्तै यस पटकको एसईईमा उत्तीर्ण पोखराकी कुलमाया क्षेत्री पनि चर्चा गर्न लायक पात्र हुन् । पोखरालाई केन्द्रमा राखेर राजनीतिसँगै व्यवसायमा सक्रिय रहेकी कुलमाया हजुरआमा समेत बनिसकेकी महिला हुन् ।

औपचारिक शिक्षाको महत्वलाई बुझेकी कुलमायालाई अध्ययन गर्न उमेरले छेकेन । महिला उद्यमी संघ नेपाल कास्कीकी सदस्य तथा वडा इकाई पोखरा ८ को अध्यक्षसमेत रहेकी कुलमायाले यस वर्षको एसइईमा बि प्लस (२.९ जिपिए) ल्याएर उत्तीर्ण बन्न सफल भएकी छन् ।

‘अध्ययनका लागि उमेरले छेक्दैन भन्ने उदाहरण बन्ने मेरो सोच थियो,’ उनले भनिन, ‘एसइई उत्तीर्ण भएर थप शिक्षा हासिल गर्ने मेरो सपना साकार भएको छ । म निकै खुसी छु ।’