सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाण्डौं, चैत २९ ।
देशभर विभिन्न ठाउँमा भएका सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, धादिङ, बाग्लुङ, बाजुरा र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।
कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सडकमा बा२७प ४२४७ नम्बरको मोटरसाइकल र बा२ख ८९२४ नम्बरको पानी ट्यांकर एकआपसमा ठक्कर खाई बिहीवार राति दुर्घटना हुँदा पानी ट्यांकरका सहचालक ललितपुर सानेपा बस्ने सिन्धुपाल्चोक चौतारा घर भएका १७ वर्षीय सन्देश गिरीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक टौदह बस्ने २२ वर्षीय अजित महर्जनको स्टार अस्पतालमा उपचार भइरहेको छ । फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ । धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौदीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शुक्रवार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ ।
बाग्लुङको जैमिनी नगरपालिका–९ बिजुवास्थित सडकमा कुश्मिसेराबाट बिजुवातर्फ जाँदै गरेको ध१त ४८७ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार २२ वर्षीय किरण गायकको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा बिहीवार साँझ मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाजुराको बुढीगंगा नगरपालिका–७ वायलस्थित सडकमा से१त ८९८३ नम्बरको ट्याक्टरबाट खस्न जाँदा ट्याक्टरमा सवार सोही स्थान बस्ने २४ वर्षीय जनक ओखेडाको बिहीवार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुमा खोलास्थित सडकमा ना५त ६७२६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने बलबहादुर वादीको १८ महिनाको छोरा आरन वादीको बिहीवार बिहान मृत्यु भएको छ ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि कर्णाली प्रदेश अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवम् आवश्यक अनुसन्धान गरिरहेका छन् ।