सराङकोटमा सेल्फी स्पटः शीरमा हिमाल, पछाडी पोखरा (फोटो फिचर)
पोखरा, भदौ १२ ।
सर्लक्कै सहर देखिन्छ । शीरतिर टलक्कै टल्किने सेता हिमाल । पृष्ठभूमीमा पोखरालाई राखेर डाँडाबाट सेल्फी खिच्न पोखरा महानगरले पार्क निर्माणको काम थालेको छ । महानगरकै शीरमा पर्ने सराङकोटको जामुनाबोटमा राष्ट्रिय विभुती तथा शहीद पार्क निर्माणको काम थालिएको हो । सबैभन्दा सिरानमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राखिएको छ ।
पुष्पलाल श्रेष्ठ, भीमसेन दाहाल सहित विभिन्न स्व. नेताहरुको शालिक पार्कमा राखिएका छन् । १ सय ८ शहीदका शालिक राख्ने गरी काम थालिएको महानगरले जनाएको छ । पार्क निर्माणका लागि २३ करोड भन्दा बढी लगानी हुने बताईएको छ । यद्यपी पहिलो बर्ष करिब १ करोड हाराहारीमा खर्च भएको छ ।
पार्कमा सिँढी बाटो निर्माण गरिएका छन् । विभिन्न प्रजातिका विरुवाहरु रोपिएका छन् । महानगरका चोकचोकमा भएका शालिकलाई ब्यवस्थापन गर्नका लागि बनाईएको पार्क पर्यटकको बसाई लम्ब्याउने अर्को गन्तब्य बन्दै छ । केही समयअघि आइल्याण्ड चाक्लो भएको भन्दै त्यसलाई घटाउन महानगरले अभियान नै चलायो ।
तर, जातिय समुदायको विरोधले सबै शालिक हटाउन सकेन । निर्माणाधीन पार्कबाट पोखरा शहरसँगैै प्राकृतिक मनोरम दृष्य सहजै देखिन्छ । पार्कमा पृथ्वीनारायण शाहको ६ फिट ३ इन्च अग्लो पूर्णकदको शालिक राखिएको छ भने अन्य शहीदको अर्धकदको शालिक राखिने छ ।
तत्कालीन पोखरा उपमहानगरपालिकाले सराङकोट गाविस हुँदा ५६ रोपनी क्षेत्रफल छुट्याएर पार्क बनाउने निर्णय गरेको थियो । पार्कको भोगाधिकारको जिम्मा जनआन्दोलनका प्रथम शहीद भीमसेन दाहाल स्मृति प्रतिष्ठानलाई २०६७ सालमा दिइएको थियो ।
पछि महानगरपालिकाले आफ्नै लगानीमा सराङकोटमा विभूति तथा शहीद पार्क स्थापना गर्ने निर्णय गरेको हो । यो बर्ष पार्क निर्माणका लागि १ करोड रुपैयाँ छुट्याईएको छ । पार्क नजिकै खुला ब्यायमशाला पनि निर्माण गरिएको छ । ४५ लाख लागतमा जीम सहितको ब्यायमशाला बनाईएको हो ।