सरकार संविधान कार्यान्वयनतर्फ उन्मुख–मन्त्री श्रेष्ठ

पोखरा, असोज ८ ।
उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकार संविधान कार्यान्वयनको चरणमा प्रबेश गरिसकेको बताए । कठिन परिस्थितीमा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकारले संविधान कार्यान्वयनलाई बामे सर्ने अवस्थामा पु¥याएको उनको दावी छ । ‘तीन चरणमा गरेरै भएपनि स्थानीय तहको चुनाव सम्पन्न भयो । संघ र प्रदेशको चुनावी मिति सार्वजनिक भैसकेको छ, उनले भने–तोकिएकै मितिमा चुनाव सकिन्छ । त्यसपछि मुलुकको पुनः निर्माणमा एकजुट हुनुपर्छ ।’
धेरै युवाहरु विदेशमा श्रम गर्न बाध्य भएका भन्दै मन्त्री श्रेष्ठले सीप सिकेका सबै नेपालीलाई नेपालमा ल्याएर देशको समृद्धी अभियानमा लगानी गर्नुपर्ने बताए । ‘बाहुमा बल भएकाहरु नेपाल छैनन् । ठूलो चुनौतिका साथ बिदेशमा परिश्रम गर्न बाध्य छन्, उनले थपे–अब कोरा शिक्षा काम छैन । ब्यवहारिक र सीपमुलक शिक्षा दिएर सबै नेपालीलाई नेपालमा श्रम गर्न सक्ने बनाउछौं ।’ पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको दयाशंकर स्मृति पत्रकारिता पुरस्कार अर्पण समारोहलाई पोखरामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पोखरा निर्विरोध प्रादेशिक राजधानी भएकाले आवश्यक संरचना तयार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले फाष्ट ट्रयाक र सुरुङ मार्गले आपसी पर्यटकीय क्षेत्र र ब्यापारीक नाकाहरु जोड्न निरन्तर लागिरहेको बताए ।