सरकार नेकपाको पार्टी कार्यालय जस्तो–सांसद दवाडी

पोखरा, असार ११ ।
गोरखा क्षेत्र नम्बर २ (ख) का सांसद प्रकाशचन्द्र दवाडीले सरकारले जनउत्तरदायी काम गर्न नसकेको आरोप लगाए । बजेटमाथीको छलफलमा सहभागी हुँदै उनले सरकारले गोजीबाट झिकेर योजना बाँडेको बताए । संसदमा गरेको सम्बोधनको केही अंश

समामुख महोदय,

हिजो विकास जति काठमाण्डौंमा केन्द्रीत थियो । सिंहदरबारले पिछडिएको र विकट भुगोललाई देखेन भनेर संघीयता ल्यायौं । विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, महेन्द्रनगर जस्ता शहरले काठमाण्डौंसँग अधिकार खोस्यो । आज फेरि पोखरा पनि उही काठमाण्डौंको सिंहदरबारजस्तो एकलकाटे र केन्द्रीकृत भैरहेको आभास हामीलाई भएको छ । सम्मानीय सभामुख महोदय, सरकारको यस्तै गतिविधि र केन्द्रीकृत मानसिकता रहिरहने हो भने भोलि प्रदेशभित्र पनि अर्को संघीयताको आवाज उठ्न सक्छ ।

देशमा संघीयता आउँदा जनता खुशी थिए । हामी पनि खुशी नै थियौं । संघीयतापछि तल्लो तहमा बिकास विकेन्द्रीकरण हुने धेरैको अपेक्षा थियो । तर सरकारले त्यो अपेक्षा पूरै धमिलो बनाईदियो । विकट र पिछडिएको ठाउँ झनै विकट र अविकसित भैरहने भयो । यो संघीयताले कसलाई फाईदा पुग्यो ? सम्मानित सभामा मेरो प्रश्न छ ।

सभामुख महोदय,

प्रदेश सरकारले तेश्रो बजेट र विनियोजन विधेयक सभामा पेस गरिसकेको छ । आज भौतिक पूर्वाधार मन्त्रालयको बजेट र कार्यक्रममाथी हामी छलफल गर्न गैरहेका छौं । सरसर्ती बजेट हेरें । कार्यक्रम राम्रै छन् तर हामीले सिफारिस गरेका ठाउँमा भन्दा मन्त्री ज्यूले आफ्नो गोजीबाट झिकेर कार्यक्रम बनाउनु भएछ । आफ्ना नजिकका ठाउँमा ठूलो बजेट र अरुको निर्वाचन क्षेत्रमा सानो बजेट ? के यही हो सामानुपातिक विकास ? के विकास बजेट लैजान मन्त्री नै बन्नुपर्ने हो ? सरकारले विभेद गरेका यथेस्ट प्रमाणहरु मसँग छन् सभामुख महोदय । उदाहरणका लागि मेरै निर्वाचन क्षेत्रको सिराञ्चोक गाउँपालिकाको बजेट र कार्यक्रम हेरौं,

ग्याजी–रातोमाटे–खार्चोक भञ्ज्याङ सडकमा गत बर्ष ५० लाख बजेट थियो । बाटो पूरा भएको छैन । सरकारको नीति अपुरा योजना पूरा गर्ने तर्फ हुनुपर्ने हो । क्रमागत कार्यक्रममध्ये अरु सबै ठाउँमा बजेट विनियोजन भएको छ, यही एउटा सडक मात्रै झिक्नुपर्ने कारण के हो ? के त्यो ठाउँका जनतालाई अव विकास पुगेको हो ? कसैको निर्देशनमा विकासमाथी राजनीति गर्नका लागि सरकार बनाएका हौं हामीले ? सुलिकोटमा रहेको अँधेरीखोला हुँदै मालुङटार सिञ्चाई आयोजना टपक्क चराले पिपलको पात टिपेजसरी टिपेर हुत्याउन पाईन्छ सभामुख महोदय ? सबैले भन्नुभयो गोरखामा धेरै बजेट छ भन्नुभयो, तर कहाँ छ भन्ने चिन्ता छ ।

बारपाक सुलिकोटमा रहेको लुतुका–आहालगाउँ–दुम्सीका हुँदै राङरुङ जोड्ने सडक पनि प्रश्ताव गरेको थिएँ । त्यहाँका जनताको बेहाल छ । तर सरकारले जनताको चित्कार सुनेन सभामुख महोदय । त्यसैले यो सरकार जनताको सरकार होईन, कार्यकर्ताको पार्टी कार्यालय जस्तो भयो । नयाँसाँघु–सान्नानी भञ्ज्याङ–गैरिगाउँ सडक, देउराली–अमले स्कूल हुँदै आहालडाँडा–स्टुलखोला सडकको योजना पनि मन्त्री ज्यूलाई महत्वपूर्ण लागेनछ ।

त्यस्तै, मुग्लीन–पोखरा सडक, दुधपोखरी मार्गलाई झुक्किएको जस्तो बजेट आएको छ । बारपाक जस्तो पर्यटकीय क्षेत्रलाई खै पैसा ? मन्त्री ज्यूले आमा समूहको भवन बनाउनका लागि लाखौं बजेट विनियोजन गर्नु भएछ । गाउँमा विकास गयो, मलाई खुशी लागेको छ । तर हामीले ल्याएका यस्तै प्रकृतिका योजना काटेर आँफुखुशी भवन बनाउने पैसा दिनु कहाँको न्याय हो ?

पालुङटारलाई स्मार्ट सिटी र लिचीको पकेट क्षेत्र बनाईयोस भनेर धेरै पटक आवाज उठाएँ यही सम्मानित सभाबाट । पहिले स्मार्ट सिटीको शब्द कहिँकतै सुनिन्थ्यो, हामीले आवाज उठाएपछि भएको शब्द पनि झिकेछ । लिचिको पकेट क्षेत्र बनाउने बिषय त सुन्नै चाहाँदैन सरकार ।

सभामुख महोदय,

धेरैले गोरखामा धेरै बजेट गएको भनेर बधाई दिनुभयो । तर मेरो क्षेत्रमा त दुर्भाग्य भयो । हामी प्रतिपक्षी हौं, यसको मतलव विरोधी होईनौं । सरकारले गरेका राम्रा काममा हाम्रो साथ र समर्थन छ । प्रदेशलाई समृद्ध बनाउने अभियानमा हामी पनि उत्तिकै लागिरहेका छौं । हामी चाहान्छौं सरकार पुतली जस्तो उड्न सकोस् तर सरकार लार्भा जस्तो लुकेर बसेको छ । यसप्रति शुभेच्छुकको नाताले मलाई चिन्ता लागेको छ, सभामुख महोदय ।