सरकारले सिके राउतसँग राष्ट्रघाती सम्झौता गर्यो–देउवा

पोखरा, फागुन २८ ।
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिकको मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देश टुक्राउने र जनमत संग्रह माग्दै हिंड्नु काँग्रेसका लागि सह्य नभएको बताए । सम्झौतामा भएका बुँदा राष्ट्रघाती रहेको उनको टिप्पणी थियो ।

प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्ने अनि सिके राउतले जनमत संग्रह गर्ने र देश टुक्राउने कुरा गर्छन् हामी यसलाई कसरी स्वीकार्न सक्छौं । देउवाले भने, ‘यस विषयमा न प्रधानमन्त्रीको खण्डन आउँछ, जनकपुरमा जनमत संग्रहको नारा घन्किछ ।’ सरकारले फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताए ।

उनले भने, प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने, अधिनायकवादतर्फ जान्छ । आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको टिप्पणी गरे ।

सरकारले विभिन्न नाउँमा संघीयतालाई असफल बनाउन लागिरहेको छ । यो काँग्रेसका लागि मान्य हुँदैन, उनले भने । विप्लव माओवादीको गतिविधिबारे सोधिएको प्रश्नमा उनले देशमा हत्या हिंसा अराजकता मौलाएकोले यसको नियन्त्रण गर्नु सरकारको कत्र्तव्य भएको बताए ।

संसदमा प्रतिपक्षको भूमिका कमजोर देखिएको भन्नेबारे पत्रकारको जिज्ञासामा उनले संसद् र देशै भरि सरकारका विरुद्ध बोलेको छु, यति हुँदा पनि सरकार सुन्दैन । भोट दिने बेलामा एमालेलाई भोट दिने अहिले प्रतिपक्षको भूमिका खोज्ने ? भनी प्रतिप्रश्न गरे ।

म्याग्दीको तातोपानीमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै नुहाएर एकता हुन्छ भनी आपूmले नभनेको र कसले भन्यो भनी प्रतिप्रश्न गरे । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रविना आले र संचालन सचिव प्रदीप पौडेलले गरेका थिए ।