सरकारले पोखराको फेवा किनारमा १ करोडको झण्डा पार्क बनाउने

पोखरा, साउन १७ ।
गण्डकी प्रदेश सरकारले फेवा किनारमा राष्ट्रिय झण्डा राख्ने भएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा झण्डा राख्न लागिएको हो । गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढेको छ ।

त्यस क्षेत्रमा १०० मिटर अग्लो नेपालको झण्डा राखिनेछ । झण्डाको छायाँ फेवातालमा पर्दा त्यो माछापुच्छ्रेको हिमालको शिरमाथि हुनेछ । पर्यटकलाई लक्षित गरी झण्डा पार्क निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

पोखरा महानगरपालिकाका सहायक प्रशासकीय अधिकृत यमलाल अधिकारीका अनुसार योजनाको सम्भाब्यता अध्ययन समेत भैसकेको छ । महानगरपालिकाले यसको अध्ययन गरेर झन्डै १ करोड रुपैयाँ लागत लाग्ने प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाएको छ ।

महानगरपालिकाको यो प्रस्ताव बुधबारको मन्त्रिपरिषद बैठकले पनि स्विकृत गरिसकेको छ । मन्त्रिपरिषदले नै यो योजनालाई स्विकृत गरेपछि योजाना अब टेण्डर प्रक्रियामा जाने सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

टेण्डर प्रक्रियामा गईसकेपछि लाग्ने लागतमा सरकारले समपुरक अनुदानबाट र महानगरपालिकाले ५०/५० प्रतिशत लगानी गर्नेछन् । टेण्डर भने महानगरपालिकाले आह्वान गर्नेछ ।