सरकारले दिने पदक कास्कीबाट कसले पाउँदैछन् ? (नामावली सहित)

प्रकाश ढकाल
पोखरा, असोज ३ ।
सरकारले संविधान दिवसको अवसरमा दिने विभिन्न पदकमध्ये कास्कीबाट मात्रै करिब २० जनाले पाउने भएका छन् । कास्कीबाट सबैभन्दा ठूलो पदक जगमान गुरुङलाई दिईने भएको छ । संस्कृतिविद् गुरुङलाई उज्वल कीर्तिमय राष्ट्रद्धीप पदक प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै सुप्रवल जनसेवा श्री तृतिय पदकबाट ढिकुरपोखरीका तारानाथ अधिकारी, लेखनाथका ईश्वरराज पौडेल सम्मानित हुन लागेका छन् । पत्रकार पूण्य पौडेल, समाजसेवीको नाममा पोखरा ८ का गोपाल गुरुङ, पत्रकार निर्मला शर्मा र समाजसेवी दीपक पौडेललाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणीको पदक दिन लागिएको छ ।

जनसेवा श्री पञ्चम पदकबाट यसबर्ष पोखरा १० कि समाजसेवी पवित्रादेवी गुरुङ, पोखरा ५ कि वडा सदस्य अञ्जु केसी, पोखरा १६ का समाजसेवी उदयबहादुर बस्नेत, पोखरा ३ का लोक गायक प्रजापति पराजुलीलाई सम्मान गरिने भएको छ ।

समाजसेवा रत्न पदक यसबर्ष शुशिलकुमार गोशलीले पाउने भएका छन् । सुकीर्ति पदक चाहीँ खेलकुदका क्षेत्रका प्रतिनिधीहरुलाई दिन लागिएको छ । पोखराका प्याराग्लाईडिङका मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानोबाबु सुनुवार, खेलाडीहरु पोखरा १७ का विमल अधिकारी, पोखरा १८ का बिजय गौतम, पोखरा ६ का शुशिल गुरुङ, पोखरा ६ कै युकेश गुरुङ र पोखरा १८ का बिशाल थापाले सुकीर्ति पदक पाउन लागेका हुन् । सबै खेलाडीहरु एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जित्ने प्याराग्लाइडिङ टाेलिमा थिए ।

अधिकांश पदक पाउनेहरु राजनीतिक आस्थामा नजिक भएकाहरु रहेका गुनासो छ । विशेषगरी चुनावमा सहयोग गर्ने र चुनावमै प्रतिश्पर्धा गरेकाहरु पनि पदक पाउनेको सूचीमा रहेको भन्दै पदकको सम्मान हुन नसकेको गुनासो सुरु भएको छ । सरकारले विभिन्न मुद्धामा फसेका र बढी विवादित भएका ब्यक्तिहरुलाई पनि पदक दिने घोषणा गरेको छ । संविधान दिवसको अवसरमा यस बर्ष ४ सय २१ जनालाई सम्मान गर्न लागिएको छ ।