सरकारलाई हेक्का रहोस्–काँग्रेस सत्ताबाहिर मात्रै हो, सदनबाहिर छैन

मनोज गुरुङ

पोखरा, माघ ८ ।
यतिबेला नेपाली काँग्रेस संघीन मोडमा छ । नेपाली राजनीतिको लामो इतिहासमा काँग्रेस बाहेक पहिलो पटक नेकपाको पोल्टामा दुई तिहाइ बहुमत परेको छ । जसका कारण सत्ता सञ्चालनको प्रमुख हकदार बन्नु स्वभाविक हो । नेपाली काँग्रेस जनमतलाई सम्मान गर्दै यतिबेला सचेत प्रतिपक्षको रुपमा सत्ता बाहिर छ । देश संघीय संरचनामा गएपछि यसको सफल कार्यान्वयनको चिन्ता हामीलाई पनि उत्तिकै छ । नयाँ संरचना कार्यान्वयन गर्न त्यति सहज छैन, हामी त्यो बुझ्छौं । त्यसैले यसको कार्यान्वयनमा सघाउनु हाम्रो पनि उत्तिकै दायित्व हुन आउँछ । सरकारले गरेका राम्रा कामलाई बधाई दिँदै गलत कामको आलोचना (सुझाव सहितको विरोध) काँग्रेसले गरिरहेको छ, यतिवेला ।

अहिलेको राजनीतिक ब्यवस्था ल्याउन न कम्युनिष्ट, न काँग्रेस वा अन्य जुनसुकै विचारधाराका पार्टी पनि सडकमा ओर्लिएकै हो । सबैको त्याग, मेहिनत, बलिदान र संघर्षबाट हामी विकेन्द्रित राज्य ब्यवस्थामा प्रवेश गर्न सफल भयौं । राजतन्त्र हत्याउन सबैको भूमिका महत्वपूर्ण छ । हामी अहिले प्रतिपक्षमा छौं र पनि प्रतिपक्षको भूमिका कस्तो हुन्छ भनेर सिकाईरहेका छौं । सरकारमा हुँदा पनि काँग्रेसले सबै पार्टीलाई सिकाउँदै सही गन्तब्यको अगुवाई गरिरहेकै हो ।

दुईतिहाइ प्राप्त पार्टीले सत्तामा एकलौटी गर्नु कुनै नौलो कुरा पनि होईन र त्यसप्रति हाम्रो विरोध पनि छैन । हाम्रो विरोध यत्ति हो कि सदनमा समेत नेकपा बाहेक कुनै पार्टीको उपस्थिति नै छैन जस्तो गरि जुन दम्भ देखाईरहेको छ, यसप्रति हामी चुप बस्न सक्दैनौं । संसदीय ब्यवस्था मान्ने पार्टीले सदनको मूल्य मान्यता र अस्थित्वमाथी नै आँच पुग्ने हिसावले जसरी एकलौटी गर्न खोजिरहेको छ यसप्रति हो हाम्रो विरोध । सरकारलाई यो हेक्का भएन कि नेपाली काँग्रेस सत्ताबाहिर मात्रै हो, सदनबाहिर छैन ।

तपाईंलाई उदाहरण दिउँ, अहिले देशैभरी वाईडबडी विमान खरिदको बिषय चर्किएको छ । हाम्रै जिल्लाका एकजना आसालाग्दा नेताले मन्त्रालय सम्हाल्नुभएको छ । यो घटना सत्य नहोस् म वहाँलाई शुभकामना दिन चाहान्छु । तर मेरो शुभकामनाले मात्रै यो काण्ड सेलाउने वाला त छैन । संसदभित्रको सार्वजनिक लेखा समितिले गठन गरेको विशेष उपसमितिले वाईडबडीमा ४ अर्व भन्दा बढी घोटला भएको प्रतिवेदन सार्वजनिक ग¥यो । सरकारले त्यसमा चित्त नबुझेर अर्को ढाकछोप समिति गठन ग¥यो । के यही हो संसदीय ब्यवस्था ?

अर्को घटना हेर्नुस् न, कञ्चनपुरकी चेली निर्मला पन्तको बलात्कारपछि हत्या भएको आधा बर्ष वितिसक्यो । कहिले मानसिक रोगीलाई अपराधी भनेर सार्वजनिक गर्छ, कहिले चाहीँ घटना हुँदा हिरासतभित्रै रहेको ब्यक्तिलाई अपराधी भनेर सार्वजनिक गर्छ, कहिले लागू औषध प्रयोगकर्तालाई समातेर ल्याउँछ । के यही हो न्याय ? जसले समातेको छ, उसलाई पनि थाहा छ कि ति ब्यक्तिहरु अपराधी होईनन् । जनताको दुख र पीडाप्रति संवेदना देखाउनुपर्नेमा सरकार उल्टै ठट्टा गर्छ । यो ठट्टा गर्ने बिषय हो ?

जनस्वास्थ्य क्षेत्रलाई जनमैत्री बनाऔं भनेर जनताका छोरा गोविन्द केसी १६ औं पटक अनसनमा हुनुहुन्छ । सारा देशलाई थाहा छ, उनका माग जायज छन् र सरकारले यी माग सम्बोधन गर्नुपर्छ । अनि सरकारलाई ति माग सम्बोधन गर्न के को आपत्ति ? उल्टै राजनीतिकरण गरेर जायज मागलाई पनि पन्छाउने र माग विपरित उल्टै विधेयक सदनमा पेश गर्नु सरकारको निकम्मापन बाहेक के हुन सक्छ ? सरकार आँफै चलिरहेको छ कि माफियातन्त्रले चलाएको छ भन्ने यसैबाट छर्लङ्ग छ नि ।

अहिले हेर्नुस् न जताततै महंगी, भ्रष्टाचार, कालोबजारी मौलाईरहेको छ । राजनीतिमा दण्डहिनता छ । कर्मचारीतन्त्र अनुशासित छैनन् । सरकार गलत बाटोमा जाँदै छ भनेर कसैले आवाज उठायो भने सम्मानीय प्रधानमन्त्री, देशका अभिभावक सम्मानित सदनमा उभिएर कार्यकर्तालाई अरिङ्गाल बन्न निर्देशन दिनुहुन्छ । देशमा अराजकता फैलाउन उद्दत यस्तो सरकारसँग हामीले के आसा गर्ने ? जनताले के आसा गर्ने ?

३३ किलो सुन काण्डका कुरा पनि यहाँले सुन्नुभएकै होला । तपाईंहरुकै मिडियाबाट पनि लगातार यसबारे समाचार आईरहेका छन् । सरकार सञ्चालक पार्टी नेकपाकै केही नेताहरु खुलेयाम ठूला माछाले उन्मुक्ति पाईरहेको बताउँछन् । सरकारले त्यसको ढाकछोप गरेको कुरा पनि आईरहेको छ । मुख्य योजनाकार पक्राउ पर्दा समेत यसमा संलग्नको आरोप लागेकाहरु धमाधम सानो धरौटीमा रिहा भैरहेका छन् । अनि यसलाई पनि हामी चुपचाप सहिरहनुपर्ने ?

देशकै सम्माननीय राष्ट्रपति ज्यू, सुनामीमा परेर ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिनुपर्नेमा बधाई पत्र पठाउनुहुन्छ । कति गैर जिम्मेवार छ यो सरकार ? राष्ट्रपति पद सरकारको संरक्षक हो नि । संरक्षककै अवस्था यस्तो छ भने सरकार कस्तो हुन्छ ? अनि हामीले के आस गर्ने ?

अन्तमाः सरकारले गरिरहेका गलत गतिविधिका विरुद्ध नेपाल तरुण दलले पोखरामा माघ ११ गते शुक्रबार बृहत विरोध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी भएर गलत कदम विरुद्धको आन्दोलनमा सहयोग गरिदिनुहुन र आँफूलाई सचेत नागरिकको रुपमा परिचित गर्न पनि सम्पूर्णमा मरो विनम्रा अनुरोध छ ।

(गुरुङसँगको कुराकानीमा आधारित सम्पादित अंश ।)-उनी नेपाल तरुण दल कास्कीका अध्यक्ष हुन् ।