सरकारलाई पोखराबाट तरुणदलको चेतावनी–दुई तिहाईको दम्भ देखाईरहे सिंहदरबारबाट लखेटिन्छाै (भिडियो)

पोखरा, माघ ११ ।
सरकारका गतिविधिप्रति नेपाल तरुण दलले पोखरामा शुक्रबार विरोध प्रदर्शन गरेको छ । निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक, वाईडबडीको छानवीन हुन नसकेको लगायत कारण देखाउँदै पोखरामा प्रदेशस्तरीय विरोध कार्यक्रम गरेको हो ।

पोखराको मानवाधिकार चोकदेखि सुरु भएको विरोध ¥याली पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नेकपा सरकार नागरिकका हक अधिकारप्रति जिम्मेवार नभएको भन्दै तरुण दलले आगामी दिनमा सशक्त रुपमा सडक तताउने चेतावनी दिए । उनले सरकार दुईतिहाइको भरमा संविधान विपरीत अघि बढेको आरोप लगाए ।

बस्नेतले पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई समेत उनकै गृहजिल्लामा कटाक्ष गर्न भ्याए । देशलाई अधिनायकवाद तर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिष्ट सक्रिय भएको बताउँदै बस्नेतले सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा रहेको बताए ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई बचाउन सरकार नै सक्रिय भएको आरोप लगाए । उनले भने–‘वाइडबडी र सुनकाण्ड गर्ने पनि सरकारकै मानिसहरु हुन् ।’ उनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट घचेट्ने बेला आएको बताउँदै उनले सरकारलाई जति गालि गरेपनि नहुने उल्लेख गर्दै सिंहदरबाटै निकाल्नुपर्ने बताए ।

सभामा नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण केसी, गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, तनहुँका तरुण दल अध्यक्ष रमेश पाण्डे, पर्वतका तरुण दल अध्यक्ष राज मल्ल ठकुरी लगायतले सरकार भ्रष्टाचारमा मुछिएको, निर्मला काण्डमा सरकारले न्याय दिन नसकेको, महँगी नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरेका थिए ।