सभामुख महराले ढंग नपुर्याउँदा संसदमा हंगामा

काठमाण्डौं, पुस २३ ।
प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने विषय सामान्य थियो। तर एकैछिनमा दलहरूबीच जुगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सरकारका काम कारबाहीबारे प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा झण्डै १ घण्टाको वक्तव्य दिए । विपक्षी कांग्रेसले प्रधानमन्त्रीसँग प्रतिप्रश्नका लागि सभामुखसँग समय माग्यो ।

तर, सभामुख कृष्णबहादुर महराले समय दिने ‘ढंग’ नर्पुयाएपछि एकैछिनमा विपक्षी कांग्रेस नाराबाजी र अवरोधमा उत्रियो भने विपक्षीको अवरोधबीच सदनको कारवाही अघि बढ्यो ।

विपक्षीले समय मागिसकेपछि या त सभामुखले बोल्न नदिने आफ्नो अडानमा अडनुपर्थ्यो, या त बोल्नै दिनुथियो भने स्थिति भड्किन दिनु हुँदैनथ्यो’, सत्तासीन नेकपाका एक नेताले अन्नपूर्णसँग भने, ‘ सभामुखले ढंग नर्पुयाउँदा दुर्भाग्यपूर्ण अवस्था आइलाग्यो ।’