संसद्मा कांग्रेस–मच्चियो मच्चियो, थच्चियो !

काठमाण्डौं, पुस २६ ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गएको आइतवार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्त्वको विषयमा दिएको वक्तव्यबारे प्रश्न गर्न पाउने भन्दै कांग्रेस सांसदहरूले संसद्मा टेबल ठटाए । कांग्रेस सांसदको होहल्लाका कारण सभामुखले संसद्को बैठक १५ मिनेटका लागि स्थगित गरे ।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने कांग्रेसको अडानका कारण १५ मिनेटपछि बस्ने भनिएको बैठक सूचना टाँसेर बुधवारसम्मका लागि स्थगित भयो । प्रश्न गर्न नपाएको झोकमा कांग्रेसले सभामुखलाई समेत आरोपित र्गयो । कांग्रेस सांसद गगन थापाले सभामुख कृष्णबहादुर महरा राजनीतिक दलको कार्यकर्ता बनेको, हुकुमी शैलीले सदन चलाउन खोजेको आरोप लगाए ।

मंगलवार संसदीय दलको कार्यालयमा भएको अनौपचारिक बैठकले सभामुखले नियमावली मिचेर बैठक सञ्चालन गरेको ठहर र्गयो । बुधवार संसदको बैठक शुरू हुनुअगाडि सम्मपनि कांग्रेसले प्रधामनन्त्रीलाई प्रश्न गर्न पाउनु पर्ने विषयलाई प्रतिष्ठा बनाएको खवर लोकान्तरले छापेको छ ।

ओलीको भाषणले गरम, सभामुखको रुलिङले नरम !

प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएकोमा जहाजै डुबेजस्तो गरी संसदमा प्रस्तुत भएका कांग्रेस सांसदहरू सभामुख महराको एउटा सामान्य रुलिङपछि ‘कूल’ भए । बुधवारको बैठकको शुरूमा सभामुखसँग समय लिएर कांग्रेस मुख्य सचेतक बालकृष्ण खाणले पुस २२ गते प्रधानमन्त्रीसँग आफूहरूले प्रश्न राख्न चाहेको तर सभामुखले समय नदिएको तथा विपक्षी उभिएको समयमा समेत सदन चलाउन खोजेको गुनासो गरे ।

खाण बोलेलगत्तै सभामुख महराले खाणले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको र प्रतिनिधि सभा नियमावलीको नियमा २१९ अनुसार प्रश्न उठाउने व्यवस्था रहेको र त्यो व्यवस्था यथावत रहेको आस्वस्त गराउन चाहेको बताए ।

‘नेपाल सरकारले सार्वजनिक महत्त्वको वक्तव्य दिँदा नियमावलीको व्यवस्था बमोजिम माननीय सदस्यहरूले राख्नुभएको प्रश्नको जवाफ दिन नेपाल सरकारलाई निर्देशन गर्दछु,’ महराको यति रुलिङले कांग्रेस सांसदहरू शान्त भए ।
सभामुखको रुलिङको अर्थ आगामी दिनमा प्रधानमन्त्री र मन्त्रीहरूले सम्बोधन गरेपछि सांसदहरूले प्रश्न सोधे भने जवाफ दिनु पर्नेछ । यति कुरा सभामुखले आइतवार पनि नभनेका होइनन् । उनले संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्ने व्यवस्था गर्छु भनेकै थिए ।

आफूलाई जिम्मेवार प्रतिपक्ष भन्ने र संसदीय व्यवस्थाको हिमायती ठान्ने कांग्रेसले संसदमा आफ्नो फितलो प्रस्तुतिलाई फेरि एकपटक दोर्होयाएको छ । आइतवारको सम्बोधनमा प्रधानमन्त्री ओलीले गलत तथ्याङ्क पेश गरेको आरोप कांग्रेसले लगाएको थियो । अब प्रश्न उठ्छ, कांग्रेसले भनेजस्तै सभामुखको रुलिङपछि त्यो गल्ती सच्चियो त ?

महासमिति बैठकको ‘साइड इफेक्ट’

दुईसाता पहिले काठमाडौंमा सम्पन्न महासमिति बैठकले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको थियो । सदन प्रतिपक्षविहीन बनेको टिप्पणी भइरहेको समयमा कांग्रेसले आफूलाई ‘क्रान्तिकारी’ देखाउन अनेकन स्टन्ट गर्ने गरेको छ ।

‘पुस २२ गते प्रतिनिधि सभा नियमावली २१९ अनुसार प्रधानमन्त्रीले सभामुखको अनुमतिमा सार्वजनिक महत्त्वको विषयमा मन्तव्य राख्नुभयो । त्यसबारेमा हाम्रो प्रतिक्रिया हामीले राख्न चाह्यौं । नियमावली २१९ को २ अनुसार मन्त्री र प्रधानमन्त्रीले सार्वजनिक वक्तव्य दिएपछि प्रश्न सोध्न सकिन्छ । यही व्यवस्था अनुसार प्रधानमन्त्रीले बोलेपछि समय माग्यौं र समय नपाएपछि हामीले सदनमा उभिनुर्पयो,’ खाणले बुधवार सदनमा भने, ‘नियमावलीमा व्यवस्था गरिएको सदस्यको अधिकारको रक्षा सभामुखले गर्नुपर्नेछ । प्रतिपक्ष उभिँदाउभिँदै सदन चलाउनु सोभनीय होइन ।’ खाणले नियमावली २१९ कार्यान्वयन नभए संसदमा उभिन बाध्य हुने चेतावनी दिए ।

२९ गते प्रधामनन्त्रीले जवाफ दिनुहुन्छ–डिला संग्रौला

कांग्रेस सांसद डा. डिला संग्रौलाले सभामुख महराले प्रधानमन्त्रीको जवाफको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि आफूहरू सदन सुचारु गर्न तयार भएको बताइन् ।

‘प्रधामनन्त्रीले २२ गते संसद्मा बोलेको विषयमा हामी भोलि लिखित प्रश्न दर्ता गर्दैछौं, २९ गतेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ,’ संग्रौलाले लोकान्तरसँग भनिन्, ‘हामी हाम्रो अडानबाट पछि हटेका छैनांै । आज पनि संसदीय दलको सचेकतले धारणा राख्नुभएको छ ।’ २२ गतेको बैठकमा प्रश्न गर्न नदिनु गल्ती भएको महसूस गरेपछि आज सभामुखले रुलिङ गरेको उनले बताइन् ।