संचारिका समूह गण्डकीमा स्मिता, अधिवेशन नै अवैधानिक भएको आरोप
पोखरा, पुस १ ।
सञ्चारिका समूह गण्डकी प्रदेशको पहिलो अधिवेशनले स्मिता अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका कँडेल, महासचिव कविता श्रेष्ठ, सचिवमा कञ्चन थापा, कोषाध्यक्षमा उमा आलेमगर चयन हुनुभएको छ ।
सदस्यहरुमा रोश्मी गुरुङ, तारा चापागाइ दुवे, पुनम मगर, दुर्गा रानामगर, कविता घर्तीमगर, सोनिया लामा, अनिषा श्रेष्ठ (जयन्ती) चयन हुनुभएको छ भने गोरखा, तनहुँ, लमजुङ, पर्वत र स्याङजाका अध्यक्षलाई सदस्यमा राखिएको छ ।
आइतबार सम्पन्न भएको अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । महिला पत्रकारहरुको क्षमता अभिबृद्धि, हक हित संरक्षण लगायतमा समूह क्रियाशील रहेको छ ।
तर केही पत्रकारहरुले चाहीँ अधिवेशन नै अवैधानिक भएको भन्दै पुनः निर्वाचनको माग गरेका छन् । गण्डकी प्रदेशको यसअघिकी उपाध्यक्ष विमला भण्डारी सहित ४ जिल्लाका अध्यक्षहरुले पुनः निर्वाचनको माग गरेका छन् ।
केन्द्रिय कार्यसमितिले समेत अवैध भएको भन्दै अधिवेशन स्थगीत गर्न निर्देशन गरेकोले केन्द्रको निर्देशन अनुसार तत्कालै नयाँ प्रक्रिया सुरु गर्न उनीहरुको माग छ ।
‘गण्डकी प्रदेशको अधिवेशन स्थगीत गर्न केन्द्रिय समितिले दिएको निर्देशनलाई अवज्ञा गर्दै सो–घोषित रुपमा चयन गरिएको कार्यसमितिप्रति हाम्रो असहमति छ, विज्ञप्तीमा भनिएको छ–महिला हक हितको लागि कार्यरत संचारिका समूहको केन्द्रदेखि जिल्ला तहसम्म सबैलाई समेट्ने गरि नेतृत्व चयन गरेकोमा आफूखुशी कार्यसमिति गठन गरिएको प्रति हाम्रो गम्भीर आपत्ति छ । केन्द्रिय समितिले स्थगीत गरेको निर्देशनात्मक पत्रलाई लत्याई गठन गरिएको कार्यसमिति बैधानिक हुनै नसक्ने हाम्रो निष्कर्ष छ ।’
गण्डकी प्रदेश समिति भनिएपनि कास्की बाहेक अन्य जिल्लाका पत्रकारहरुको प्रतिनिधित्व नरहेको र सदस्यता वितरण तथा निर्वाचन कमिटी नै बैधानिक नभएकोले पुनः केन्द्रिय विधान अनुसार केन्द्रकै समन्वयमा पुनः निर्वाचनको प्रक्रिया अघि बढाउन उनीहरुको माग छ ।
उपाध्यक्ष भण्डारी सहित तनहूँ अध्यक्ष सन्तोषी श्रेष्ठ, लमजुङ अध्यक्ष शान्त कमली, स्याङजा अध्यक्ष भवानी अधिकारी र पर्वत अध्यक्ष माया अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ती जारी गरेका हुन् ।