‘वीपी’ राजमार्गलाई ‘केपी’ राजमार्ग बनाउन बिजय गच्छदारको चुनौती
![](http://dnanepal.com/wp-content/uploads/2018/01/bijaya-gachchhadar.jpg)
काठमाण्डौं, माघ ७ ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसको इतिहासमाथि प्रहार गर्ने तथा लोकतन्त्र र प्रजातन्त्रमाथि लडेका नेताहरुको इतिहासमाथि सरकारले खेलवाड गर्न खोजेको टिप्पणी गरेका छन् ।
सोमबारको संसद बैठकमा बोल्दै गच्छदारले गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरु खारेज गर्न खोज्नु त्यसको एक उदाहरण भएको भन्दै सरकारको चर्को आलोचना गरे । अस्पतालहरु खारेज गरेसँगै उनले वीपी राजमार्ग निर्माणको प्रसङं्ग पनि कोट्याए ।
उनले बहुमतको अहंकारमा जथाभावी निर्णय गर्ने सरकारलाई विश्वेश्वरप्रसाद मार्गलाई खारेज गरेर केपी शर्मा ओली राजमार्ग बनाएर देखाउन चुनौती समेत दिए । ‘यो सरकारसँग क्षमता छ भने त्यो विश्वेश्वरप्रसाद कोइराला मार्गलाई खारेज गरोस् । सक्नुहुन्छ भने प्रधानमन्त्री जी त्यो वीपी राजमार्ग होइन केपी शर्माओली राजमार्ग बनाउनुहोस् न हेरौ । हामीले यस्तो गर्न पाईन्छ ? त्यस्तो घोर अराजनीति गर्न पाईन्छ ?’ उनको चुनौती थियो ।
सहमति गर्ने अनि तोडिदिने सरकारले शान्ति प्रक्रियामा समायोजन गरेका माओवादी सेनालाई फिर्ता गरेर देखाउन पनि चुनौती दिए । भने,‘माओवादीका लडाकुहरु सेनमा समायोजन भएको छ । सरकारसँग हिम्मत छ । सेनामा समायोजन गरेको माओवादी सेनालाई फिर्ता गर्नुहोस् ।’
उनले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र निर्माणका लागि भारत सरकारसँग भएको आर्थिक सहयोग सम्बन्धी सम्झौता देखाउँदै त्यो सम्झौता लागू नभए काँग्रेसले हात बाँधेर नबस्ने बताए । पुस १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले मुलुकका विभिन्न स्थानमा रहेका ११ वटा अस्पताल, उपचार केन्द्र र स्वास्थ्य केन्द्रलाई केन्द्र सरकारमै रहने गरि गठन आदेशको निम्ति गरेको प्रस्ताव मध्येबाट १० र ११ नम्बरका प्रस्तावलाई छोडेर बाँकी ९ वटा प्रस्तावमाथि मात्रै निर्णय गरेपछि कांग्रेसले त्यसको विरोध गर्दे आएको छ ।