विष्णु पौडेललाई ‘भ्रष्टाचारी’ भन्दै कांग्रेसले पर्चा छर्यो

बुटवल, जेठ १३ ।
बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरिएको छ । नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो ।

पौडेललाई कारबाही हुनु पर्ने भनेर पर्चा छरिएको नगर सभापति पाण्डेले बताए । नेकपा महासचिव पौडेल बुटवल प्रदर्शनी केन्द्रको शिलान्यास गर्न बुटवल आएका छन् । उनले केहीबेरअघि प्रदर्शनी केन्द्रको शिलान्यास पनि गरेका छन् ।

निर्वाचनअघि नै प्रदर्शनी केन्द्रको निर्माणको नक्शासमेत तयार भएको र बुटवल नगर सर्वदलीय बैठकबाट पारित भइसकेको भन्दै नगरसभापति पाण्डेले अहिले प्रचारका लागि शिलान्यास गरिएको बताए । उनले नेपाली कांग्रेस प्रदर्शनी केन्द्र निर्माणकै पक्षमा रहेको स्पष्ट पारे ।