विष्णु पौडेललाई कारबाहीकाे माग गर्दै तरुण दलले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पोखरा, बैशाख १५ ।
बालुवाटार जग्गा काण्डमा नेकपा महासचिव विष्णु पौडेललाई कारबाहीको माग गर्दै नेपाल तरुण दल कास्कीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । भूमाफियासँग मिलेर सरकारको संरक्षणमा बालुवाटार जग्गा हिनामिना गरिएको आरोप लगाउँदै आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत पौडेल सहित संलग्न सबैलाई कारबाहीको माग गरेको हो ।

‘सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण गर्नुपर्ने सरकारको मुख्य दायित्व हो । त्यसलाई चटक्कै विर्सेर भूमाफियासँग मिलेर सरकारकै संरक्षणमा पार्टीका नेता र कार्यकर्तालाई लालपुर्जा बाँड्ने काम भयो, ज्ञापनपत्रमा भनिएको छ–जनताको साझा सम्पत्ति माफियासँग मिलेर ब्यक्तिको नाममा हस्तान्तरण गर्ने अक्षम्य भ्रष्टाचारको तरुण दल घोर विरोध गर्दछ । विष्णु पौडेल र संलग्न ब्यक्तिहरुलाई तुरुन्त हदैसम्मको कारबाही गरियोस् ।’

यसैबीच, एनसेलले सरकारै संरक्षणमा कर छली गरिरहेको भन्दै तत्काल कर तिर्ने वातावरण बनाउन तरुण दलको माग छ । ‘सरकारले विभिन्न बहाना गर्दै एनसेलको कर छलिमा सघाएको छ । ७० अर्वभन्दा बढी कर तुरुन्त असुलउपर गरिनुपर्छ, तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले भने–वाईडबडीको काण्ड तत्काल छानवीन गरि प्रतिवेदन सार्वजनिक गर्नुपर्छ र मेलम्ची आयोजना जतिसक्दो छिटो पूरा गर्नुपर्छ ।’

योसँगै, निर्मला पन्त लगायत नेपाली चेलीहरुको बलात्कार र हत्या तथा अन्य आपराधिक गतिविधि तुरुन्त रोकी अपराधीलाई कडा कारबाही गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्दै शुन्य सहनशीलता कायम गरिनुपर्ने लगायत ६ बुँदे माग पठाएको गुरुङले बताए ।

यसैबीच, तरुण दल मुस्ताङले पनि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । तरुण दल मुस्ताङका अध्यक्ष कर्म घ्याचो गुरुङ, सचिव सञ्जय थकाली र काँग्रेस नेता अविनास थकाली सहितको उपस्थितिमा ज्ञापनपत्र बुझाएको हो ।