विवाद भएपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचमै बोलचाल बन्द

वीरगञ्ज, चैत १३ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेको भुलवाही खोलामा गिट्टी बालुवा उत्खनन्का लागि लगाइएको ठेक्काको विषयलाई लिएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद चुलिएको छ ।

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले ठेकेदारसँग रकम लेनदेन गरी प्रक्रिया मिचेर भलुवाइ खोलाको ठेक्का लगाएको उपाध्यक्ष ममता महत्तो थारुको आरोप छ । अध्यक्ष चौधरीले भने आफन्त पर्ने ठेकेदारले ठेक्का नपाएको झोकमा उपाध्यक्ष महत्तोले खोलाको ठेक्काका बारेमा भ्रम छर्दै हिँडेको आरोप लगाएका छन् ।

वीरगन्जमा बुधबार पत्रकार सम्मेलन गरी गाउँपालिकाकी उपाध्यक्ष महत्तोसहितका बहुसंख्यक कार्यपालिका सदस्यले विधि प्रक्रिया मिचेर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशाकीय अधिकृतले खोलाको ठेक्का लगाएको आरोप लगाएका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष थारुसहितका सातजना कार्यपालिका सदस्यले बोर्ड बैठकबाट निर्णय नै नगराइ गाउँपालिका अध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले खोलाको ठेक्का लगाएको आरोप लगाएका हुन् । अध्यक्ष र प्रमुख प्रशासकीयले ७० लाख रुपैयाँको लेनदेन गरी नियम प्रक्रिया मिचेर खोलाको ठेक्का लगाएको आरोप उनीहरुको छ ।

पटेर्वा सुगौली गाउँपालिकाले चालु आर्थिक वर्षको साउनमा भलुवाही खोलाको ठेक्का दुई करोड ७२ लाख ५१ हजार ९ सय ९९ सय रुपैयाँमा लगाएको थियो । ठेक्काको विषयमा विवाद चुलिएपछि अध्यक्ष र उपाध्यक्ष बीचमै बोलचाल ठप्प भएको छ । राजधानी दैनिकले खवर लेखेको छ ।