‘विप्लव पक्राउ परे जन्मकैद’

काठमाण्डौं, चैत १० ।
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ ।

‘सरकारले विप्लव समूहका गतिविधि विध्वंसात्मक र आपराधिक भएको घोषणा गरिसकेको अवस्थामा हामीले प्रचलित संगठित अपराध ऐन २०७० र फौजदारी अपराध (संहिता) ऐन २०७४ अनुसार कारबाही अघि बढाएका छौं,’ प्रहरी स्रोत भन्छ, ‘देशभरका युनिटमा पनि सोहीअनुसार कारबाही गर्न सर्कुलर भइसकेको छ ।’ दुवै कसुर पुष्टि भए विप्लव तथा अन्य नेता÷कार्यकर्तामाथि १० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

मन्त्रिपरिषद्बाट प्रतिबन्ध लाग्नुअगावै विप्लव अर्धभूमिगत भइसकेका थिए । मन्त्रिपरिषद्ले नेकपामाथि प्रतिबन्ध लगाएसँगै विप्लवसहित सबै नेता–कार्यकर्ता भूमिगत भइसकेका छन् । त्यसयता विप्लव समूहका करिब दुई दर्जन नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली विप्लवसहितका भूमिगत नेता–कार्यकर्ताको खोजीमा जुटेको छ ।

नेकपाको आधार इलाका मानिएका विभिन्न जिल्लामा संयुक्त सुरक्षा फौजले ‘सर्च अपरेसन’ सुरु गरिसकेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी पनि पक्राउ परेका विप्लव समूहका नेता÷कार्यकर्तामाथि संगठित अपराध ऐन र फौजदारी अपराध (संहिता) ऐनअन्तर्गतका दफाअनुसार अनुसन्धान भइरहेको बताउँछन् । संगठित अपराध गरेबापत कसैको ज्यान गए अपराध गर्ने र अपराध गर्न आदेश दिने दुवैलाई जन्मकैद हुने व्यवस्था छ । नागरिक दैनिकमा खवर छ ।