विप्लवलाई प्रचण्डले भने–‘मेरो नक्कल गरेर प्रचण्ड बनिँदैन’

पोखरा, फागुन २७ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको नक्कल गरेर नयाँ ब्यवस्था ल्याउन नसकिने बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै वहाँले विप्लव समूहले गरेको क्रियाकलाप जनयुद्धको नक्कल भएको भन्दै त्यसले गन्तब्यमा पुग्न नसक्ने बताए ।

‘मैले त वहाँलाई राम्रोसँग चिन्छु । मैले नै स्कुलिङ गरेको मान्छे हो । पार्टीको सचिवको रुपमा रहेर मसँगै काम गरेको पनि हो, नेत्रविक्रम चन्द विप्लवलाई सुझाव दिँदै उनले भने–वहाँहरुले मैले अथवा पार्टीले ५२ सालमा गरेको कुरालाई नक्कल गर्न खोज्नुभएको छ । यो पार लाग्ने बाटो होईन । त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा ब्यापक फेरवदल आईसकेको छ । अव राष्ट्रिय राजनीतिमा आउनुस् ।’

‘उनले अघि भने–फेरि प्रचण्डले गरेको जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विल्कुल मनोगत हुन्छ । त्यो इतिहासले एउटा कालखण्डमा एउटा विचार र नेतृत्वलाई अगाडी ल्याउने गर्छ । मेरो साथीहरुलाई के भनाई छ भने त्यसो गर्न छोडेर अहिलेको अवसर उपयोग गर्नुहोस् ।’

पछिल्लो समय जनयुद्धको बेला माओवादीले प्रयोग गर्ने बाटोबाट हतियार ल्याएर देशमा पड्काउने गरेको समाचार आएपछि प्रचण्डले त्यस्तो सुझाव दिएका हुन् । गलत बाटोमा हिडिरहे राज्य चुप लागेर नबस्ने चेतावनी पनि प्रचण्डको छ । ‘सरकारले पृथकताबादतिर गएकालाई पनि बार्ताको माध्यमबाट समस्या समाधान गर्न पहल गरेको छ । विप्लव समूह पनि बार्ता र छलफलबाट मुल राजनीतिमा आउनुपर्छ, उनले भने–नक्कल गरेर यही क्रियाकलाप दोहोर्याउने हो भने फेरि राज्य चुप लागेर बस्न पनि सक्दैन । त्यो वहाँहरुको लागि र राज्यको लागि पनि राम्रो कुरा हुँदैन ।’

नेकपा अध्यक्ष प्रचण्डले सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावना अनुसार नै रहेको भन्दै कुनै शंका नगर्न आग्रह गरे । बाहिर आएको होहल्लाजस्तो सम्झौता नभएको भन्दै उनले सम्झौता अनुसार नचले सरकारले एक्सन लिने उनी बताउँछन् । उनले केही दिनभित्रै पार्टी एकीकरण पूरा हुने बताएका छन् ।

Photo-Sudarshan Ranjit