विप्लवप्रति कठोर बन्दै सरकार, गण्डकी प्रदेशबाट सबैभन्दा धेरै पक्राउ

पोखरा, चैत १३ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समूहप्रति सरकार झनै कठोर बनेको छ । सरकारले आक्रामक रुपमा विप्लवका कार्यकर्ताहरु पक्राउ र कारबाही गरिरहेको छ । नेकपाका तेस्रो बरियताका नेता हेमन्तप्रकाश वलीसहितका शीर्ष नेतासम्म पक्राउ परिसकेका छन् ।

सरकारले सबैभन्दा बढी गण्डकी प्रदेशबाट विप्लव समूहका २१ जना नेता कार्यकर्ता पक्राउ गरेको हो । प्रदेश संयोजकदेखि सामान्य कार्यकर्ता समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंगलबार मात्रै जनपरिषद्का तमुवान प्रदेश संयोजक किसान सिं गुरुङलाई लेखनाथबाट पक्राउ गरिएको छ । देशभरबाट ७४ जना पक्राउ गरिसकेका छन् । जसमा प्रदेश नम्बर १ बाट १५ जना, प्रदेश २ बाट ७ जना प्रदेश ३ बाट १२ जना गण्डकी प्रदेशबाट २१ जना प्रदेश ५ बाट ९ जना कर्णाली प्रदेशबाट ५ र सुदूरपश्चिम प्रदेशबाट ५ जना विप्लव कार्याकर्तालाई प्रहरीले पक्राउ गरिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।