विप्लवका विद्यार्थीको पिएनमा प्रदर्शन–पत्रकार सहित ३ जना समातिए

पोखरा, चैत १८ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरुले पोखराको पिएन क्याम्पसमा प्रदर्शन गरेका छन् । सरकारको गतिविधि र माउ पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोधमा उनीहरुले मसाल जुलुस निकालेका थिए ।

मसाल जुलुस निकाल्न लागेको बेलामा पक्राउ गरेको प्रहरीले जनाएको छ । विद्यार्थीहरुले चाहीँ विरोधको कार्यक्रम सकेर क्याम्पस भित्र छिरिसकेपछि पक्राउ गरेको बताएका छन् । पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र अर्का विद्यार्थी नेता उज्वल पुन छन् । पक्राउ परेकाहरु मध्ये १ जना पत्रकार समेत छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारी कार्यक्रमको फोटो खिचिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरु तीनैजना कास्की प्रहरी परिसरमा छन् । शान्तिपूर्ण कार्यक्रम गर्दा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।

एसपी ओम रानाले शंकामा तीनजना पक्राउ गरेको बताए । विप्लव समूहको गतिविधि निस्तेज पार्ने अभियानमा रहेको प्रहरीले केही दिनअघि प्रदेश र जिल्लाका जनसरकार प्रमुखलाई समेत पक्राउ गरिसकेको छ । प्रमाणित भएपछि मात्रै ब्यक्तिहरु सार्वजनिक गरिने रानाले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाई छ । पक्राउ परेका पत्रकारको तुरुन्त रिहाई गर्न नेपाल पत्रकार महासंघ कास्कीले माग गरेको छ ।