विपक्षीले अवरोध गरेपछि संसद बैठक आज पनि स्थगित, अर्को बैठक बिहीबार २ बजे बस्ने

 

काठमाडौं, साउन १५ ।

प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले आज पनि संसद बैठक अवरुद्ध गरेका छन् ।

 

गत असार ५ र १४ गते सर्लाहीमा भएका दुई छुट्टाछुट्टै हत्याका घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् ।

 

सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भएको भन्दै बैठक सुचालु गर्न अनुरोध गरेका थिए ।

 

सांसदहरुले विरोध गरिरहेकै बेला सभामुखले बैठकको कारवाही अघि बढाउन खोजेपछि कांग्रेस र राजपाका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरेका थिए ।

 

सभामुखले विपक्षी दलका सांसदहरुलाई सदन सुचालु गर्न पटक–पटक आग्रह गरेपनि अवरोध जारी राखेपछि बैठक भोलि(बिहीबार) दिउँसो दुई बजेसम्मका लागि स्थागित गरेका छन् ।

 

सर्लाहीमा कुमार पौडेल र सरोजनारायण हत्याबारे छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेस र राजपाको माग छ ।

उनीहरुले यहि माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन, तर सरकार यसमा सहमत भएको छैन ।(ईमेजखबरबाट साभार)