विन्ध्यबासिनीमा नवदूर्गा महोत्सव हुने

पोखरा, असोज १ ।
अघिल्ला बर्षहरुमा जस्तै यसबर्षपनि पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा दशैंको अवसरमा नवदूर्गा महोत्सव हुने भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा असोज ५ गते घटस्थापनाको दिनदेखि असोज १३ गते महानवमीसम्म नवदूर्गा महोत्सव हुने आइतबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार महोत्सवको पहिलो दिन अर्थात घटस्थापनाको विहान विन्ध्यवासिनी मन्दिर, नवदुर्गाका नौ रथसहितको झाँकी, बिन्ध्यबासिनी मन्दिरको झाँकी, पञ्चैबाजा, विभिन्न जातजातीका संस्कृति झल्कने झाँकीसहित शोभा यात्रा निकालिने छ ।
सुरक्षा निकाय, विद्यार्थी, आमा समुह, भजन समुह, जातीय, धार्मिक, शैक्षिक, सामाजिक संघ संस्थाको सहभागिता रहने शोभायात्रा विन्ध्यबासिनी पार्कबाट विहान ७ः३० बजेबाट सुरु भएर मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्ण टोल, गणेशटोल हुँदै पुनः नालामुख, भिमसेन टोलहँुदै बिन्ध्यबासिनी मन्दिरमै पुगेर समापन हुनेछ ।
नवदुर्गा महोत्सवको कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्ने समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । घटस्थापनाको दिन मन्ध्याहदेखि मन्दिर परिसरमा झाँकीसहितको श्रीमद् देवी भागवत ज्ञान महायज्ञ शुरु हुनेछ ।