विद्यार्थी रिहाईको माग सहित पोखरामा नेविसंघको प्रदर्शन, २ वटा सरकारी गाडी नियन्त्रणमा

पोखरा, माघ २२ ।
विद्यार्थी रिहाईको माग गर्दै नेपाली काँग्रेस कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको पहिलो चरणमा विभिन्न निकायमा डेलिगेसन जाने र त्यसपछि पनि रिहाई नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने काँग्रेस कास्कीले जनाएको छ । सोमबार बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरेको सभापति कृष्ण केसीले जानकारी दिए । सार्वजनिक विदाका दिन सरकारी गाडी चलाएको भन्दै नेविसंघले केहीदिन अघि पोखरा महागरपालिकाको शिक्षा शाखाको गाडी जलाएको थियो ।

सोही गाडी जलाएको आरोपमा नेविसंघका ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये २ जना छुटिसकेका छन् भने बाँकी ३ जनालाई मुद्धा चलाईएको छ । हिरासतमा रहेका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलको रिहाई माग गर्दै नेविसंघले मंगलबार पार्टी कार्यालय अगाडी चिप्लेढुंगामा केही बेर चक्काजाम गरेरै प्रदर्शनमा उत्रिए ।

आन्दोलनरत विद्यार्थीहरुले आजै मुख्यमन्त्री कार्यालय सहित दुईवटा सरकारी गाडी नियन्त्रणमा लिएका छन् । मुख्यमन्त्री कार्यालयको बा २ झ १३६३ र जिल्ला अदालत कास्कीको बा १ झ ८१५९ नम्बरको गाडी नियन्त्रणमा लिएका हुन् । मुख्यमन्त्री कार्यालयको गाडी पृथ्वीचोकमा छ भने अदालतको गाडी चिप्लेढुंगामा छ । विद्युत कार्यालयको बा १ झ १७० नम्बरको गाडी पनि नियन्त्रणमा लिएका थिए ।

तर अर्को चावी प्रयोग गरेर गाडी लगिसकेका छन् । नेविसंघ केन्द्रिय सदस्य भानु ढकालको नेतृत्वमा गएको टोलिले गाडी कब्जाा लिएको हो । समयमै रिहाई नगरे अझै कडा आन्दोलन थाल्ने उनले चेतावनी दिए ।