वन रक्षकको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
पोखरा, असार २४ ।
वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोग गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको शुक्रबार गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु चेकजाँच गर्नेक्रममा ३ जना नक्कली परीक्षार्थी फेला परेका हुन् ।
पक्राउ पर्नेमा कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना छन् । उनी नावालक भएकोले प्रहरी परिचय खुलाएको छैन ।
उनीहरुले परीक्षार्थीहरुको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए । उनीहरुलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए ।