लिलप्रसादलाई सघाउन युकेबासी सिक्लेसी जुटे

पोखरा, असार १९ ।
असार १ को घरघोर वर्षा । निमेषभरमै बगे ३२६ भेडा र ३ वटा भोटे कुकुर । १४ वर्षदेखि भेडीगोठ चलाउँदै आएका सिक्लेसका लिलप्रसाद गुरुङको झण्डै करोड सम्पत्ति एकै छिनको बाढीमा मिसियो ।
लिलप्रसादको भेडा बगेको समाचार सुनेपछि सिक्लेसमा जन्मिएर युके बस्दै आएकाहरुको मन पोल्यो । अनि पीडामा मलम लगाउन सहयोग अभियान सुरु गरे । प्रत्येक सहयोगीले एउटा भेडाको मुल्य बराबर सहयोग गर्ने गरी रकम उठाईएको छ ।
‘लिलप्रसाद गाउँको परम्परा लाई जोगाइ राख्ने र गाउँलाई माया गर्ने मान्छे हो । हामी स्कुल पढ्न जाँदा पनि भेडा चराउन जान्थे,’ तमु धिं यूकेका संस्थापक अध्यक्ष तथा युके निवासी सिक्लेसी मीन गुरुङले भने, ‘उनको भेडा बगेको समाचारले मन छियाछिया भयो ।’
हालसम्म ८ लाख हाराहारी रकम संकलन भएको र उपयुक्त समय पारेर लिलप्रसादलाई हस्तान्तरण गरिने गुरुङले बताए । देशमा चर्को वर्षा भयो भन्ने सुन्दा निन्द्रा लाग्दै । असार लागेपछि कता अप्रिय घटना घट्छ भन्ने चिन्ताले सताउँछ,’ उनले भने, ‘कहिले भुकम्पको तनाव । कहिले बाढी पहिरोको । हामी सबै दुखमा सँगै छौं ।’
तमु धिं युकेले केहि समयअघि कोभिड नियन्त्रणको लागि २५ वटा अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन प्लाण्ट जडान गर्न १० लाख सहयोग हस्तान्तरण गरेको छ । पहिलो चरणको कोभिडका बेला मुख्यमन्त्री कोषमा ८ लाख र स्वास्थ्य सामग्रीहरु सहयोग पठाएको थियो ।
भुकम्पका बेला तमु धिं युकेले लाप्राक बस्ती बनाउन १ करोड १० लाख सहयोग गरेको र धादिङमा स्कुल बनाईदिएको थियो ।
‘सहयोग कति गरियो भन्ने भन्दा पनि हाम्रा सन्ततिहरु हाम्रै पदचाप पछ्याईरहेका छन् । मलाई त्यसमा खुशी छु । सामान्य दुख पर्दा पनि नेपालमा सहयोग गर्नुपर्छ भनेर युवा पुस्ता जागरुक हुन थालेका छन्,’ मीनले अघि थपे, ‘हामी युकेमा भएपनि हाम्रो मन पूरै नेपालमै हुन्छ ।’ हरेक समस्यामा युकेबासी नेपालीहरुले सहयोग संकलन गरेर पठाईरहेका छन् ।