रामचन्द्रको जिल्लामा कांग्रेसको समानान्तर समिति

दमौली, माघ ८ ।
तनहुँमा कांग्रेसका पूव सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले कांग्रेसको समानान्तर समिति बनाएको छ । जोशी पक्षले मंगलबार दमौलीमा गरेको विशेष जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा डिल्लीराम अधिकारी चयन भए ।

जोशीलाई हालै कांग्रेसले कारवाही गरेको छ । जोशी गएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडलले विरुद्ध बागी उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरे पनि जोशीकै नकारात्मक भूमिकाका कारण पौडेलले चुनाव हारेको आरोप छ ।

विशेष अधिवेशनले निर्विरोध पदाधिकारी तथा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समितिको सचिवमा चिनु पोख्रेल, कोषाध्यक्षमा बालकृष्ण पौडेल र सदस्यमा बालकुमारी लोहनी, एलिसा गुरुङ, नूरचन्द्र वाग्ले, सुकुमलाल गुरुङ, धु्रवकुमार श्रेष्ठ, ऋषिराम पोख्रेल, ओमबहादुर नेपाली, वुद्धिमान नेपाली छन् ।

यस्तै, केशरबहादुर गुरुङ, नरेन्द्र थापा, चित्तबहादुर थापा, इज्जत अलि मियाँ सदस्य छन् । कार्यक्रममा जोशीले अहिलेको कांग्रेसको नेतृत्व इतिहासकै असक्षम भएकाले नेतृत्व परिवर्तन गर्नुपरेको जिकिर गरे । कांग्रेसको खास राख्न विशेष अधिवेशन गर्नुपरेको उनको भनाइ छ ।

पार्टी कार्यालयमै नयाँ समितिको पदस्थापन गर्ने भनिएपनि अर्काे पक्षको विरोधले जोशी यसमा सफल भएनन् । जोशी समूहलाई कार्यालयको ५० मिटर परै प्रहरीले रोकेको थियो । कांग्रेस तनहुँले भने पार्टीको विधान विपरीत विशेष अधिवेशन भएको दाबी गरेको छ । तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले विशेष अधिवेशन गर्ने व्यवस्था विधानमा नभएकाले यो अधिवेशन अवैधानिक हुने बताए ।