रवीन्द्रलाई भुईंफुट्टाहरुले बदनाम गरे–प्रधानमन्त्री ओली

पोखरा, जेठ १९ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व विरुद्ध बोलेर बहादुर भईन्छ भन्ने भ्रम नपाल्न कार्यकर्तालाई आग्रह गरेका छन् । शनिवार पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भ गर्दै उनले अधिकारी जस्तै अनुशासित हुन सुझाए । ‘रवीन्द्र अधिकारी अनुशासित इमान्दार कार्यकर्ता हो । पार्टीको निर्णयका विरुद्ध, नेतृत्वका बिरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो,’ उनले भने, ‘कतिपयलाई भ्रम प¥या छ, पार्टीको निर्णयविरुद्ध बोल्यो भने, पार्टीको नीतिका विरुद्ध बोल्यो भने, अनि विरोधीले उचाल्दिन्छन्, बेलुन बनाएर फुकेर ठुलो बनाइदिन्छन्, वाह विद्वान त यस्तो हुन्छ भनेर । हो क्यार भनेर त्यसैमा कुद्ने, त्यो लोभ रवीन्द्र अधिकारीमा थिएन । त्यो भ्रम अधिकारीमा थिएन ।’

ओलीले रवीन्द्र अधिकारी वाईडवडी खरिद प्रक्रियामा निर्दोष रहेको दोहो¥याए । ‘रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडीको प्रसंग ल्याएर बद्नाम गर्ने कोसिस भयो र मैले भने उहाँ यस मामलामा निर्दोष हुनुहुन्छ । एकथरि अत्यन्तै छुद्र मतिका मान्छेहरुलाई साह्रै पोलेछ, उहाँ वास्तवमा निर्दोष हुनुहुन्छ, उनले अघि भने, ‘केहि भुइँफुट्टा तत्वहरु प्रधानमन्त्रीले अदालतले फैसला नगरेका कुरामा निर्दोष छ भन्न पाइन्छ भने । अदालतले फैसला नगरेका कुरामा दोषी भन्न पाइने । संलग्नता नै नभएको कुरामा निर्दोष छ भन्न नपाइने ?’

अध्यक्ष ओलीले विरोधी हँसाउने काम नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘कुनामा बस्ने, कुरा काट्ने अनि फाल्तु गफ लेखेर विद्धान पल्टिने प्रबृत्तिहरु छँदैछ । यसको कुनैपनि अर्थ छैन । यसले आन्दोलनलाई कुनै योगदान गर्दैन । खाली विरोधीहरु हँसाउने मात्रै हो । यस्तो खाले प्रबृत्ति हुनु हुँदैन,’ ओली भन्छन्, ‘हाम्रा साथीहरु देशप्रति इमान्दार हुनुपर्छ । जनताप्रति इमान्दार हुनुपर्छ । पार्टी र सिद्धान्तप्रति इमान्दार हुनुपर्छ । पद र प्रतिष्ठामा ध्यान दिन थाल्यौं भने हामीले आन्दोलन निर्माण गर्न सक्दैनौं ।’

उनले नेकपामा जनताको बहुदलिय जनवाद सबैभन्दा उत्कृष्ट विचार रहेको सुनाए । ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक शक्तिशाली बनाउने कुनै आन्दोलन छ भने, आज मदन भण्डारीका बिचारले, जनताको बहुदलिय जनवादले नेतृत्व गरेको छ । आज हाम्रो पार्टी जुन सफलताको विन्दुमा पुगेको छ, जनताको बहुदलिय जनवाद नै हो,’ उनले भने, ‘त्यही बिचारमा आज हामी सबै पुगेका छौं र आज पार्टीले लिएका बिचारमा कुनैपनि फरक छैन ।’ कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको अभियानमा प्रतिष्ठानलाई उपयोग गनुपर्ने भन्दै आवश्यक सहयोग गर्ने बताए ।

गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परि निधन तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएको थियो । उनकै सम्झनामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । रविन्द्रका सोच र दृष्टिकोणलाई स्थायी बनाउन प्रतिष्ठान गठन गरिएको नेकपा कास्कीले जनाएको छ ।

प्रतिष्ठानले अनुसन्धानात्मक क्रियाकलापलाई जोड दिने प्रतिष्ठानकी अध्यक्ष तथा रवीन्द्रपत्नी विद्या भट्टराईले बताईन् । उनको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ समिति गठन भएको छ भने ४१ सस्दयीय सल्लाहकार समिति गठन भएको छ । प्रतिष्ठानलाई नेपाल सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

प्रतिष्ठानको उपाध्यक्षमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेकपा नेता दामोदर वैरागी, महासचिवमा नेकपा नेता धनराज आचार्य, उपमहासचिवमा दीपेन्द्र अधिकारी, सचिवमा पुष्पज्योति ढुंगाना र विमला पहारी छन् भने कोषाध्यक्षमा देवका पहारी त्रिपाठी छन् । ४१ सदस्यीय सल्लाहकारमा रवीन्द्रका सहकर्मी नेता योगेश भट्टराईदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसम्म छन् ।