कास्कीमा उम्मेदवारीबारे रवीन्द्रपत्नी विद्या भन्छिन्–‘पार्टीले गरेको निर्णयमा हिड्छु’

पोखरा, बैशाख १५ ।
फागुन १५ गते ताप्लेजुङमा भएको प्लेन दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । त्यसपछि कास्कीको क्षेत्र नम्बर २ अहिले खाली छ । अधिकारीको निधनपछि यो क्षेत्रमा उनकै धर्मपत्नी विद्या भट्टराईलाई उत्तराधिकारीको रुपमा हेरिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित बामदेव गौतम लगायत नेताहरुले यो क्षेत्रमा विद्यालाई नै उम्मेदवार बनाउनुपर्ने सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा समाजशास्त्रकी उपप्राध्यापक र हाल ‘त्रिवि अनुसन्धान केन्द्र’ मा कार्यरत विद्याले भने आफ्नो उम्मेदवारीका लागि दावेदारी प्रस्तुत गर्ने–नगर्ने योजना बनाइसकेकी छैनन् । उनको रुची प्राज्ञिक क्षेत्रमै छ । त्यसैले, निर्वाचनमा प्रतिस्पर्धा गर्ने वा नगर्ने भन्ने विषयमा पारिवारिक परामर्शकै क्रममा रहेको बताउँछिन् उनी । नेपालखवरसँगको अन्तरबार्तामा पनि उनले उम्मेदवार बन्ने नबन्ने अहिले नै निक्र्यौल गरिनसकेको बताईन् ।

‘के गर्ने भनेर मैले खासै केही सोचिसकेको छैन । ५–७ बर्षयता म प्राज्ञिक क्षेत्रमा छु, उनले भनिन्–१५ फागुनमा जे भयो, त्यो राष्ट्र र समाजलाई त क्षति भयो नै । हाम्रो परिवारका लागि झन् ठूलो क्षति भयो । त्यो क्षतिको परिपूर्ति भोलिका दिनमा कसरी गर्ने, परिवारको तर्फबाट कसरी जाने भन्ने विषयमा हामी सोचमग्न अवस्थामा नै छौँ । ठ्याक्कै यही गर्ने भनेर निष्कर्ष निकालिसकेका छैनौँ ।’

उनले नेताहरुको विचार र जनताको सेन्टिमेण्ट आँफैतिर भएकोले पार्टीको निर्णय शिरोपर गर्ने बताईन् । ‘नेताहरुको विचार पनि आइरहेको छ । कास्कीका जनताको ‘सेन्टिमेन्ट’ पनि एकखालको छ, उनले थपिन्–यति हुँदाहुँदै पनि मलाई के लाग्छ भने, यो व्यक्तिको कुरामात्र होइन। म पार्टीको सदस्य हुँ, पार्टीको योद्धा हुँ। परिवारले के सोच्ने, मैले के सोच्ने भन्दापनि पार्टीले सोच्छ भन्ने कुरा नै प्रमुख हो । त्यसैले, सबैभन्दा पहिले पार्टीले एकमत भएर के सोच्छ, त्यसपछि मैले विचार गर्नु उपयुक्त होला ।’ रवीन्द्र अधिकारीको प्रतिष्ठान बनाएर समाजसेवा गर्ने उनको भनाई छ । नेपालखवरमा छापिएको अन्तरबार्ताको आधारमा