रवीन्द्रको शव पोखराको प्रदर्शनी केन्द्रमा, श्रद्धाञ्जली दिनेको भीड (फाेटाे फिचर)

पोखरा, फागुन १७ ।
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि मुत्यु भएका मन्त्री रवीन्द्र अधिकारीको शव श्रद्धाञ्जलीको लागि पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका नेकपा नेता अधिकारीको पार्थिव शरिरमा पार्टीको र राष्ट्रिय झण्डा ओढाएर नेताहरुले श्रद्धाञ्जली दिए ।

श्रद्धाञ्जली दिन पोखरा आईपुगेका नेकपा नेता बामदेव गौतम र नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको झण्डा ओढाए भने रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाए । यतिबेला विभिन्न पार्टीका नेता तथा कार्यकर्ता सहित सर्वसाधारणले प्रदर्शनी केन्द्र पुगेर श्रद्धाञ्जली दिईरहेका छन् ।

श्रद्धाञ्जलीका लागि अवेरसम्म त्यहीँ राखिने र आजै रामघामा राजकीय सम्मानका साथ अन्त्यष्टी गर्ने कार्यक्रम छ । पोखरा प्रदर्शनी केन्द्रमा अधिकारीका बुबा इन्द्र, आमा लक्ष्मी, र छोराहरु विराज र स्वराजलाई पनि पार्टी नेता र आफन्तजनले सान्वना दिएका थिए ।

काठमाडौंबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा आएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।

Photo-Pradip Poudel