युवराज खतिवडा प्रहरी नियन्त्रणमा

पोखरा, फागुन ७ ।
पोखरामा ठेक्कापट्टा चलाउँदै आएका ब्यापारी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । गाली बेईजती तथा डर धम्कीको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पोखरा ५ कि वडा सदस्य अञ्जु केसीले खतिवडा विरुद्ध जिल्ला प्रशासन कार्याल्यमा उजुरी दिएकी थिईन् ।

सोही उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । वडा नम्बर ५ को बाँसटारी–धारापानी क्षेत्रमा बाटो निर्माणका क्रममा केसीले कमिसन मागेको आरोप लगाउँदै खतिवडाले पत्रकार सम्मेलन गरेका थिए । खतिवडालाई चाहीँ सरकार विरुद्ध गतिविधि गरेको भन्दै बाटो निर्माण उपभोक्ता समितिको अध्यक्षबाट हटाईएको थियो ।

केसी र खतिवडा बीचको मनमुटाव अहिले प्रहरीकोमा पुगेको छ । आफ्नो मानहानी गरेको भन्दै केसीले खतिवडा विरुद्ध कारबाहीको माग समेत गरेकी छिन् । ‘कि प्रमाण चाहियो नत्र त्यसै कमिसन मागेको आरोप लगाउन पाईन्छ ?, उनले प्रश्न गरिन्–सार्वजनिक रुपमा मनपरि अभिब्यक्ति दिँदै हिड्ने र उल्टै डर धम्की देखाउने विरुद्ध कडा कारबाही हुनुपर्छ ।’

‘ज्यादती गर्न त पाईंदैन नि । हिड्न पनि डर भैसक्यो । शान्ति सुरक्षाका लागि भएपनि कानुनको ढोका ढकढकाउन बाध्य भएँ । अत्याचारमा परेको छु । यसको छिनोफानो अव कानुनले लगाउँछ–केसीले डिएनएसँग भनिन् ।’

तर प्रहरीले चाहीँ खतिवडालाई पक्राउ नगरेको बताएको छ । ‘उजुरी परेपछि हामीले निगरानीमा राखेका छौं । तर बिषयबस्तु राजनीतिक भएकोले मेयरसावले छलफल गर्छु भन्नुभएको छ, एसपी ओम रानाले भने–हामीले शान्ति सुरक्षाको मुद्धा हेर्ने हो ।’

श्रोतका अनुसार खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएर राती नै अस्पताल पुर्याएको थियो । सोमबार ११ बजेदेखि उनी प्रहरी नियन्त्रणमा रहेको र रात परेपछि विरामी भएको बाहनामा फिस्टेल अस्पताल गरिएको श्रोतले बतायो ।