मेलम्ची आयोजनामा लफडा, मन्त्रीले गरिन् सचिवकै सरुवा

काठमाण्डौं, फागुन ८ ।
खानेपानी मन्त्री बिना मगरले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा गराएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा गरिएको हो ।

आयोजनाको काम छोडेर गएको इटालीयन कम्पनी सीएमसीलाई कानुन विपरित २ अर्ब ६० करोड रुपैयाँ भूक्तानी दिएर फेरि बोलाउन मन्त्रीले दवाव दिएको तर सो निर्देशन नमान्दा आफूलाई सरुवा गरिएको सचिव ठाकुरले दाबी गरेका छन् ।

उनले भने–‘त्यो कानुन विपरित भएकोले मैले दिन मानिनँ, त्यसको विकल्प खोज्नुस् मबाट मुलुकलाई अहित हुनेगरी राष्ट्रलाई घात हुने यस्तो काम हुँदैनँ भनेपछि सरुवा गर्नुभयो ।’ सोमबार आफ्नो सरुवा गरिएको अनौपचारिक रुपमा आफूले थाहा पाएको उनले बताए ।

उनले मन्त्री मगर अहिले कञ्चनपुर भएको र यसबारे केही कुरा नभएको बताउँदै सरकारले जहाँ सरुवा गरेको भएपनि गएर काम गर्ने बताए । उनले आफूले नेपालीले नै बाँकी काम साढे २ अर्बमा गर्न सक्ने र समयमा पानी पनि आउने बताएको उल्लेख गर्दै फेरि सिएमसी आए मुलुकलाई ७ अर्ब घाटा लाग्ने बताए ।

उनले भने–‘सीएमसी आउँदा मुलुकलाई ६ देखि ७ अर्ब घाटा हुन्छ ।सोझो तरिकाबाट नेपाली ठेकेदारबाटै काम गराउनुपर्छ भन्ने मेरो अडान थियो । तर मन्त्रीजीको भागिसकेको ठेकेदार सीएमसीलाई नै फर्काउनुपर्छ भन्ने अडान भएपछि विचार मिलेन । त्यो राम्रो पनि हो, बिचार नमिलेपछि बाटो छोडिदिनु राम्रो हो ।’

उनले सिएमसी आएर फेरि काम गर्ने ग्यारेन्टी नभएको बताउँदै उसको धरौटी रकम र साढे दुई अर्ब क्षतिपूर्ति दिनु राज्यलाई हानी पुर्याउनु बाहेक केही नभएको उल्लेख गरे । खानेपानी मन्त्रालयमा यसअघि पनि अर्का सचिव कृष्णराज बिसीको सरुवा गरिएको थियो ।