मुस्ताङको ‘कोशेली’ अर्गानिक ‘घिण्टी’
सुन्दरकुमार थकाली
मुस्ताङ, पुस २८ ।
जाडो सिजनमा मुस्ताङ पुग्नुभयो भने तपाईंले एउटा अचम्मको दृष्य देख्नुहुन्छ । घरका पालिमा लहरै झुण्डिएका चौपायाका आन्द्राहरु । आलो रगत भरेर सुकाएपछि चौपायाको आन्द्रालाई मुस्ताङीहरु ‘घिण्टी’ भन्छन् । मासुका लागि घरमा पालिएको चौपायाको आन्द्रा (लिभर) भित्र रगत र मसला भरेर खानाको रुपमा प्रयोग गर्ने मुस्ताङको चलन सदियौंदेखिको हो । मुस्ताङे टिपीकल खाना घिण्टी बनाउनु पुख्र्यौली परम्परा पनि हो । भेंडा, याक र च्याङ्ग्रा कसैको घरमा काटियो भने भोलिपल्ट पालीमा आन्द्राको बजार देखिन्छ । बिशेषगरी जाडो मौसममा मुस्ताङीको काम घिण्टी बनाउने हुन्छ ।
‘जाडोमा बनाएको घिण्टी बर्षभरि विग्रिँदैन । त्यसैले गर्मीमा भन्दा जाडोमा घिण्टी बनाउने चलन बढी छ, होटल ब्यवसायी समेत रहेका जोमसोमका राकेश भट्टचन भन्छन्–हाम्रो त पाहुना आउँदा सत्कार गर्ने कोशेली पनि यही हो । घिण्टी पालीमा छउञ्जले घरमा तरकारीको जोहो गर्ने चिन्ता पनि पर्दैन ।’ मुस्ताङतिर जाडो मौसम र तोरन्ल पर्वमा घिण्टीको प्रयोग बढी हुन्छ । मुस्ताङीको घिण्टी अहिले बजारतिर ससेजको नामले चल्तीमा छ । बजारिया शब्दमा थकाली तथा गुरुङ समूदायले बनाउने घिण्टी ससेज भन्दा पनि हुन्छ । तर ससेज र घिण्टीमा बहुत फरकपन छ । ‘घिण्टी बनाउँदा आन्द्रालाइ कम्तिमा सात घाम सुकाउनुपर्छ । सकेसम्म हावाको वहावसँग आन्द्रालाई खेल्न दिनुपर्छ, जोसोमका अर्का स्थानीय लेखबहादुर गुरुङ भन्छन्–बजारतिरको ससेज सुकाईंदैन । मसला भरेर तेलमा फुराउने मात्रै हो ।’
मुस्ताङको घिण्टी अहिले पाहुनाको रोजाईमा पनि पर्न थालेको छ । कोही घुमन्ते मुस्ताङ पुग्यो भने खोजिनेमध्येको एउटा कोशेली पनि हो घिण्टी । वर्षेनी हिउँदयाममा मुस्ताङका स्थानीयले सुकुटी मासुको जोहो गर्ने गर्छन् । मुस्ताङका हरेक परिवारले २ देखि १० वटा सम्म च्याङ्ग्रा, भेडा र कतिले सिङ्गो याकनै काटेर हिउँदे सुकुटी तयार गर्छन् । सुकुटी बनाउने मेसोमा घिन्टी हाल्दछन् । जाडो मौसममा सुकुटी मासु र घिन्टीको सुप खाने चलन मुस्ताङीले पहिलेदेखि नै चलाउँदै आएका हुन् । घीन्टी उर्फ ससेज बजारका डिपामेन्टल स्टोरमा समेत छ्यापछ्याप्ती बिक्रिमा राखिएको हुन्छ । यद्यपी बजारमा राखिएका ससेज मुस्ताङमा उत्पादन भएजस्तो गुणस्तरीय हुँदैन ।