मुक्तिनाथ परिसरको दृष्य खिच्दै गरेका भारतियको ड्रोन नियन्त्रणमा
सुन्दरकुमार थकाली
मुस्ताङ, भदौ ३१ ।
अन्नपूर्ण संरक्षण क्षेत्र तथा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरको दृष्य खिच्दै गरिएको ड्रोन क्यामेराको फुटेस हटाईएको छ । भारतको अस्त्रधाम देखि मुक्तिनाथ दर्शनका लागि आएका करिव ५ दर्जन स्वामी पहिरनको रातो बस्त्र लगाएका भारतिय टोलीका केही सदस्यले शनिबार ड्रोन मार्फत मुक्तिनाथ परिसरको दृष्य खिचेका थिए ।
टोलीका स्वामी चरणदाश सहितका केही सदस्यहरुले बिना अनुमति दृष्य खिचेको पत्ता पाएपछि तत्काल उनीहरुले प्रयोग गरेका दृष्य सामाग्री प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्ष महेन्द्र खड्काले जानकारी दिए । उनले कागबेनी देखि माथि एक्यापको संरक्षित क्षेत्र भएको तथा ड्रोन मार्फत दृष्य खिच्न निषेध गरिएको बताए ।
उनका अनुसार भारतिय पर्यटकले दृष्य खिच्न प्रयोग गरिएका ड्रोन क्यामेराको सम्पूर्ण फुटेस हटाई सम्झाई बुझाई छाडिएको छ । छिमेकी मुलुकका धार्मिक पर्यटकले अन्जानमा गरेको सानो गल्तिलाई दुख दिन उचित नभएकाले यसो गरिएको डिएसपी खड्काले बताए ।
उनीहरुलाई मुक्तिधामको दृष्य खिच्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मुक्तिनाथले नियन्त्रणमा लिएको थियो । यता भारतिय टोलीका स्वामी चरणदासले मुक्तिनाथ क्षेत्रमा ड्रोन मार्फत फोटो खिच्न कहिँकतै सूचना नटाँसिएकाले आफुहरुले तस्विर खिचेको बताए । ‘पब्लिक जानकारी हुनुपथ्र्यो भएन । रोकतोक छैन होला भनेर आफुहरुले ड्रोनबाट फोटो खिचेका हौ ।’ दासले भने ।