‘महिलाहरु सक्षम छन्’

पोखरा, फागुन २४ ।
महिलाहरु हरेक क्षेत्रमा सक्षम भएपनि पाखा लगाउने काम भएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले महिलालाई राज्यले नै बेवास्ता गरेको गुनासो गरे । उनीहरुको बिशेष जोड संविधानले किटान गरेको उपस्थितीमा छ । ‘संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागीता सुनिश्चित गरेको छ । तर नेपालमा कमजोर पद दिएर टार्ने काम भैरहेको छ, उनीहरु भन्छन्–अब ठूला पदमा पनि महिलाले सहभागी हुन पाउनुपर्छ ।’ महिला अधिकारका पक्षमा निरन्तर आन्दोलन भैरहने राष्ट्रियसभा सदस्य वृन्दादेवी राना बताउँछिन् । उनले कुनैपनि प्रदेशमा महिला मुख्यमन्त्री नहुनु दुर्भाग्यपूर्ण भएको गुनासो गरिन् ।
नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले पाएको अधिकार उपयोग गर्दै थप अधिकार प्राप्तिका लागि जुट्न महिलाहरुलाई आग्रह गरेका छन् । उनले आँफुपनि महिलाको हक हितको पक्षमा रहेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेशसभा सदस्य कुमार खड्काले आर्थिक रुपमा महिलाहरु कमजोर बन्दा महिला हिंसाका घटना बढेको भन्दै आर्थिक अवस्था सुधार्न जरुरी भएको बताए ।
महिला नेतृ सरस्वती गुरुङले महिलाहरु कमजोर नरहेको तर समाजबाटै कमजोर ठानिएको बताईन् । उनले आत्मविश्वासका साथ काम गरे महिलाको निर्णय तहमै उपस्थिती रहने उल्लेख गरिन् । ‘महिलाहरु असक्षम छैनन् । तर आत्मविश्वास बलियो बनाउनुपर्छ, उनी भन्छिन्–महिलाका पक्षमा एकजुट भए कसैले पनि पाखा लगाउन सक्दैन । पहिले हामी एकाकार होऔं ।’
पार्टीका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरौं भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कास्कीका महिला नेतृ र कास्की काँग्रेसका नेताहरु सहभागि थिए । कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, काँग्रेस क्षेत्र नं २ का सभापति विजयराज आचार्य, नेपाल महिला संघ क्षेत्र नं १ की सभापति अप्सरा श्रेष्ठ, क्षेत्र नं २ की सभापति शारदा गिरी, नेपाल महिला संघ पोखरा लेखनाथ सभापति माया बराल, जिल्ला बसोबास व्यवस्थापन समिति कास्कीका अध्यक्ष ऋषि काफ्ले, न्युनत पारिश्रमिक निर्धारण समितिकी सदस्य बिमला भण्डारी, अधिवत्ता माधवी पाण्डे, पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ की वडासदस्य गिता भट्टराईले बोलेका थिए । कार्यक्रममा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, प्रदेशसभा सदस्य कुमार खड्का, जिल्ला बसोबास व्यवस्थापन समिति कास्कीका अध्यक्ष ऋषि काफ्ले र न्युनत पारिश्रमिक निर्धारण समितिकी सदस्य बिमला भण्डारीलाई सम्मान गरिएको थियो। नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति अनिता तिमिल्सिनाले स्वागत, अर्की उपसभापति गौरी सापकोटाले धन्यवाद ज्ञापन र सचिव सिता गुरुङले संचालन गरेकी थिइन्।