महानगरको फोहोर उठाउने गाडी दशैं खर्च उठाउन घरघरै

पोखरा, असोज १७ ।
पोखरा महानगरपालिकाले फोहोर ब्यवस्थापन राम्रोसँग गर्न सकेको छैन । समयमा फोहोर उठाउने गाडी नआउँदा सेवाग्राही नागरिक हैरान भएका छन् । नागरिकहरुले सरसफाई शुल्क पनि महिनै पिच्छे बुझाउँदै आएका छन् ।

अरु बेला टोल समेत नदेखेका फोहोर उठाउने गाडीवालाहरु दशैंको बेला घरघरै पैसा उठाउँदै हिड्न थालेका छन् । दशैं खर्च भन्दै सरसफाईका कर्मचारीहरुले महानगरको विल विना पैसा उठाउन थालेका हुन् ।

महानगरका प्रबक्ता धनबहादुर नेपाली चाहीँ कुनैपनि नाममा अतिरिक्त रकम नतिर्न आग्रह गर्छन् । ‘अनुकुलताका लागि दिनु फरक हो । तर माग्न पाईंदैन । दिनुपर्छ भन्ने पनि छैन, उनले भने–कुनैपनि अवस्थामा अतिरिक्त पैसा तिर्नुपर्दैन । दशैं वा तिहार वा अन्य कुनै चाडलाई उपयोग गर्ने नाममा अतिरिक्त रकम माग्छन् भने उजुरी गर्नुस् ।’ उनले कर्मचारीलाई अप्ठेरो परे महानगरले सम्बोधन गर्ने बताएका छन् । यसरी विना विल अतिरिक्त रकम नउठाउन तत्कालै निर्देशन दिने नेपालीले बताए ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला पनि चाडबार्डका नाममा लिईने यस्ता रकम गैर कानुनी भएको बताउँछन् । ‘नियम विपरित रकम लिनै पाईंदैन । कसैले लिन्छ भने त्यो सोझै भ्रष्टाचार हो, उनले भने–यो काम तत्काल बन्द गर्नुपर्छ । विभिन्न नाममा यसरी पैसा असुल्न पाईंदैन ।’

सरसफाईका लागि खटिएका कर्मचारीहरुले कहिले विल विना पैसा लिने र कहिले चाहीँ तोकिएको दरभन्दा बढी रकम लिने गरेको भेटिएको ट । अघिल्लो महिना चिप्लेढुंगा स्थित स्टेशनले २ हजार रुपैयाँ सरसफाई शुल्क तिर्यो । नयाँ दरभाउ अनुसार उक्त होटलले ८ सय ८० रुपैयाँ तिरे पुग्छ । ‘टेवुल गनेर तिर्दा ८ सय ८० मात्रै हुन्छ । तर २ हजार रुपैयाँ माग्छन्, होटल सञ्चालक भन्छन्–उनीहरुले मागेजति पैसा नदिए भोलिपल्टदेखि फोहोर लिनै आउँदैनन् ।’

अधिकांश होटल र रेष्टुरेण्ट तथा अन्य सामान्य घरबाट पनि तोकिएको भन्दा दोब्बर बढी शुल्क उठाउँदै हिडेका छन् । यसमा महानगरले अनुगमन गर्नुपर्ने र आवश्यक परे कारबाही गर्नुपर्ने उपभोक्ताहरुको माग छ ।