महानगरका अधिकृत पौडेल सेतीमा हामफालेको प्रहरीको निष्कर्ष

पोखरा, असार १६ ।
कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल सेती नदीमा हामफालेको निष्कर्ष निकालेको छ । शनिबार महानगरपालिका र प्रहरीले संयुक्त पत्रकार सम्मलेन गरी पौडेल सेतीमै हामफालेको निष्कर्ष सार्वजनिक गरेको हुन् । पत्रकार सम्मेलनमा एसपी ओम रानाले पौडेलको खोजी सेती नदी र आसपासमा केन्द्रित गरेको जानकारी दिए ।

महेन्द्रपुलबाट पौडेलको हुलिया मिल्ने ब्यक्ति हामफालेको देख्ने प्रत्यक्षदर्शीको वयान र घटनाको प्रकृतिले पनि उनी सेतीमै हामफालेको प्रहरी निष्कर्ष छ । असार ९ गते बिहान सवा ५ बजे पौडेल महेन्द्रपुल चोकबाट पुलतर्फ गएको सिसी टिभीमा समेत देखिएको छ । तर, पुलपारी रहेको श्रीकृष्ण राइस मिलको सिसिक्यामेरामा पौडेल देखिएका छैनन् । पौडेल चोकबाट पुलसम्म गएको देखिएको र पछि फर्किएको नदेखिएकाले पुलबाटै हामफालेको प्रष्ट हुने प्रहरीले जनाएको छ ।

‘उस्तै हुलिया भएको मान्छे हामफालेको प्रत्यक्षदर्शीले बयान दिईसकेका छन् । सिसीटिभी क्यामेराले पनि त्यही प्रमाणित गर्छ, रानाले भने–सबै घटनाको प्रकृति अनुसन्धान र छानवीन गर्दा उनी सेतीमा हामफालेको पक्काजस्तै छ ।’ पौडेलको खोजी र घटनाको बारेमा अनुसन्धान गर्न डिएसपी रवीन्द्रमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय समिति असार १० गते गठन गरिएको थियो । कास्की मातहत र तनहूँ तथा चितवनसम्मका प्रहरीलाई खोजीका लागि पत्राचार गरिएको रानाले जानकारी दिए ।

अघिल्लो शनिवार विहान ५ बजेतिर घरबाट निष्किएका पौडेल अहिलेसम्म बेपत्ता छन् । उनको हालसम्म खोजी जारी छ । घरबाट निस्किने बेला लेखेको अन्तिमपत्र प्रहरीले शनिवारको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । पत्रमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने लेखिएको छ । ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिन । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु, पत्रमा लेखिएको छ–राम्रोसँग बसे चारै जना । अलबिदा ।’ पत्रसँगै पौडेलले आफ्नो मोबाइल, सिक्री र औंठी छाडेका थिए ।

प्रहरीका अनुसार बेपत्ता रहेको पौडेलको केही महिलासँग रहस्यमय सम्बन्ध देखिएको छ । बेपत्ता हुनु अघि पौडेलको फोन र एसएमएसको डिटेलले ३ जना महिलासँगको सम्बन्ध ‘शंकास्पद’ भएको प्रहरीले जनाएको छ । उनको मोवाईलमा बारम्बार १ महिला र २ पुरुषको फोन आउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । चितवन निवासी महिलाले ६८ पटकसम्म पौडेलको मोबाइलमा मिसकल गरेको देखिएको छ । तर, हाल उक्त मोबाइलको स्वीच अफ रहेको प्रहरीको भनाइ छ । पोखरा छोरेपाटनका एक पुरुष र झापाका अर्का एक पुरुषले पनि अघिल्लो दिनदेखि घटना घटेको दिनसम्म बारम्बार सम्पर्क गरेको रेकर्ड भेटिएको छ । यी बाहेक अन्य केही मोबाइल नम्बरलाई पनि प्रहरीले निगरानीमा राखेको जनाएको छ । यद्यपी शंकास्पद भनिएका कसैलाई पनि प्रहरीले सार्वजनिक गरेको छैन ।

पत्रकार सम्मेलनकै क्रममा मेयर मानबहादुर जिसीले महानगरप्रति अनावश्यक आरोप नलगाउन आग्रह गरेका छन् । उनले पौडेललाई महानगरले कुनैपनि हिसावको विभेद र कठिन परिस्थिती सिर्जना नगरेको भन्दै अहिलेसम्म आएका सबै आरोप झुठा भएको प्रष्टीकरण दिए । यसअघि काँग्रेस कास्की र स्थानीय तह कर्मचारी युनियनले विज्ञप्ती नै जारी गरी मेयर जिसी र महानगरका अन्य कर्मचारीको दवाव र पेलानले पौडेल बेपत्ता भएको आरोप लगाएको थियो । ‘कम्युनिष्ट र काँग्रेस भनेर घटनालाई अतिरञ्जित गर्न खोजिएको छ, प्रष्टीकरण दिँदै उनले भने–यसमा कुनै राजनीतिक रंग छैन । महानगरले कुनै विभेद गरेको छैन ।’ घटनाको केही समयभित्रै अनुसन्धान गरी टुंगो लगाईने प्रहरीले जनाएको छ ।