महराको राजीनामाबारे संसद सचिवालयले जारी गर्यो सूचना, वेबसाइटबाट पनि नाम हटाइयो

 

काठमाडौं, असोज १५ ।

बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संघीय संसद सचिवालयले औपचारिक जानकारी गराउँदै सूचना टाँस गरेको छ ।

संसद सचिवालयका सचिव भरतराज गौतमले बुधबार सूचना जारी गर्दै महराले दिएको राजीनामाबारे जानकारी गराएका हुन् ।

उनले जारी गरेको सूचना संसद सचिवालयको सूचना पाटीमा पनि टाँसिएको छ ।

राजीनामाको सूचना जारी गरेसँगै महराको नाम सचिवालयको वेबसाइटबाट पनि हटाइएको छ ।

सचिव गौतमले उपसभामुख शिवमाया तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम सूचना जारी गरेको जनाएका छन् ।

आफ्नै कार्यालयमा काम गर्ने एकजना महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

सोही व्यहोराको सूचना संसद सचिवालयमा टाँसिएको छ ।

महराले मंगलबार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।

उनले राजीनामापत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर, संसद सचिवालयको सूचनामा यसबारे उल्लेख छैन ।

यो सूचनासँगै सभामुखको पद रिक्त भएको र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।
(ईमेजखबरबाट साभार)