मन्त्री रवीन्द्रको उत्तराधिकारी तत्काल नखोज्ने मुडमा प्रधानमन्त्री

काठमाण्डौं, चैत १४ ।
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको उत्तराधिकारी तत्काल नखोज्ने मुडमा प्रधानमन्त्री शर्मा ओली देखिएका छन् । ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परी १५ फागुनमा पर्यटनमन्त्री अधिकारीको निधन भएको थियो ।

मन्त्री अधिकारीको निधन भएको एक महिना बितिसकेको छ, रिक्त सो जिम्मेवारीका लागि एक से एक आकांक्षीहरु नेकपाभित्र छन् । मन्त्री अधिकारीको निधनपछि रिक्त मन्त्रालयमा कसले जिम्मेवारी पाउने हो भन्ने चासो नेकपाभित्र छँदैछ, मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चापनि बेला–बेला हुने गरेको छ ।

दशैँ लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चा चल्न थालेपनि ६ महिना बितिसक्दा नभएपछि त्यो चर्चा केवल हल्लामात्र थियो भन्ने पुष्टि भइसकेको छ । तर, मन्त्री अधिकारीको निधनका कारण रिक्त रहेको मन्त्रालयले राजनीतिक नेतृत्व पाउन पनि अझै केही समय कुर्नु पर्ने भएको छ ।

स्रोतका भनाईमा, प्रधामन्त्री केपी शर्मा ओली सो मन्त्रालयमा तत्काल नयाँ मन्त्री नियुक्त गर्ने भन्दा केही समय यो मन्त्रालय आफैसँग राख्ने योजनामा छन् । केही बर्षअघिसम्म प्रधानमन्त्रीसँग केही महत्वपूर्ण मन्त्रालयहरु रहने गरेकोमा गणतन्त्रको स्थापना पछि प्रधानमन्त्रीले छुट्टै कुनै मन्त्रालय राख्ने गरेका छैनन् ।

राजतन्त्र कायम रहेका बेलाचाहिँ अक्सर राजदरवार मामिला र रक्षा मन्त्रालय प्रधानमन्त्रीको मातहत राखिने गरिएको थियो । यदाकदा रक्षा मन्त्रालयले छुट्टै राजनीतिक नेतृत्व पाउने गरेपनि राजदरवार मामिला सम्बन्धी मन्त्रालय भने २००७ देखि ०६३ सम्म प्रधामन्त्री मातहत नै रह्यो ।

गणतन्त्रको स्थापनापछि दरवार नै नरहेकाले राजदरवार मामिला सम्बन्धी मन्त्रालय खारेजीमा परेकाले प्रधानमन्त्री मातहत त्यो रहने कुरै भएन । गणतन्त्र यता अक्सर संयुक्त सरकार निर्माण भएकाले ‘पावर मिनिष्ट्री’ का रुपमा राखिएको रक्षा मन्त्रालय पनि भागबण्डामा पर्न थाल्यो र त्यसका लागि छुट्टै मन्त्री नियुक्त हुन थाले । यसरी लामो समय प्रधानमन्त्रीसँग छुट्टै मन्त्रालय नरहेको स्थितिमा प्रम ओलीले चाहिँ अझै केही समय यो मन्त्रालय आफैसँग राख्ने योजना बनाएका छन् ।